महिला ओपन गल्फको उपाधि सुस्मा सिग्देललाई

महिला ओपन गल्फ प्रतियोगिताको उपाधि सुस्मा सिग्देलले जित्नुभएको छ । रोयल नेपाल गल्फ क्लब एयरपोर्टमा शनिबार भएको १८ होल स्पर्धामा सुस्माले ४० अंक जोड्नुभयो । स्टेबलफोर्ड ३/४ ह्यान्डीक्याप विधामा भएको प्रतियोगितामा सुस्माले उपविजेता कस्मिरा शाहलाई दुई अंकले पछि पार्नुभयो । दोस्रो हुनुभएको शाहले ३८ अंक जोड्नुभएको थियो ।

सिनियर तर्फ रेखा घिमिरे पहिलो हुनुभयो । उहाँले ३७ अंक बटुल्नुभएको थियो । ३२ अंक बनाउनुभएको कल्याणी मोक्तान दोस्रो हुनुभयो । जुनियरतर्फ १५ अंक बनाउनुभएकी अस्टिना टन्डन पहिलो र १२ अंक जोड्नु भएकी सोनी तामाङ दोस्रो हुनुभयो ।

मोस्ट बर्डीको पुरस्कार कस्मिरा शाहले जित्नुभयो । उहाँले तीन वटा बर्डी हान्नुभएको थियो । लङ्गेस्ट ड्राइभको पुरस्कार प्रतिभा राईले जित्नुभयो । क्लोजेस्ट टु दि पिनको पुरस्कार रेखा घिमिरेले प्राप्त गर्नुभयो । आर्सिया बुनुको सक्रियतामा आयोजित एक दिने महिला एमेच्यार गल्फ प्रतियोगिता ५० खेलाडीको सहभागिता रहेको थियो ।

विजेतालाई राष्ट्रपति विद्यादेवी भण्डारी, सर्वोच्च का न्यायाधिश सपना प्रधान मल्ल, रोयल नेपाल गल्फ क्लबका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठलगायतले पुरस्कार प्रदान गर्नुभएको थियो । महिलालाई गल्फ खेलमा आकर्षित गर्न महिला ओपन गल्फ प्रतियोगिता आयोजना गरिएको हो ।

विजेलाई स्कुटरसहित उपहार प्रदान गरिएको छ । यसैगरी उपविजेतासहित विभिन्न विधाका खेलाडीलाई साइकल, टर्किस एयरलाइन्सबाट हवाई टिकट लगायत आकर्षक पुरस्कार प्रदान गरिएको छ ।


ताजा खबर