भारतीय राजदूतद्वारा राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र पेश

गणतन्त्र भारतका आवासीय राजदूत नवीन श्रीवास्तवले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ।

बुधबार शीतल निवास पुगेर उहाँले ओहोदाको प्रमाणपत्र बुझाउनु भएको हो। राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार उक्त अवसरमा परराष्ट्र मन्त्री डा. नारायण खड्कालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीको उपस्थिति थियो।

राजदूत श्रीवास्तव असार ११ गते काठमाडौं आइपुग्नुभएको हो। श्रीवास्तव अनुभवी करियर कूटनीतिज्ञ हुनुहुन्छ।

यसअघि उहाँले भारतीय विदेश मन्त्रालयमा चीन, जापान, कोरिया र मङ्गोलिया मामिला हेर्ने पूर्वी एसिया डिभिजनको प्रमुखको रुपमा कार्यरत हुनुहुन्थ्यो।

श्रीवास्तवले सन् २०१५ देखि २०१७ सम्म कम्बोडियाका लागि भारतीय राजदूतका रुपमा काम गरिसक्नु भएको छ। साथै उहाँले वासिङटन, बेइजिङ, संघाई र हङकङमा विभिन्न जिम्मेवार पदमा रही काम गर्नुभएको छ।


ताजा खबर