वामपन्थी नेता बामदेव गौतमद्वारा नयाँ दल घोषणा

वामपन्थी नेता बामदेव गौतमले नयाँ राजनीतिक दल खोलेको घोषणा गर्नुभएको छ ।

नेता गौतमले रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलनको आयोजना गरी ‘नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान’ नामक नयाँ राजनीतिक दल खोलेको घोषणा गर्नुभएको हो ।

नेकपा विभाजन पश्चात् छुट्टै अभियानमा रहनुभएका नेता गौतमले नेकपालाई पुनर्जीवित गर्ने र आफू पनि एकीकरण हुने अवस्था नबनेपछि नयाँ दल गठन गर्नुपरेको बताउनुभयो ।

पार्टी घोषणा कार्यक्रममा संयोजक गौतमले पार्टी बहुपदीय पद्धतिमा जाने र घोषणा अनुसार एक अध्यक्ष, प्रत्येक प्रदेशमा इन्चार्ज बन्ने गरी ७ जना उपाध्यक्ष र एकजना महासचिव रहने बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानको संयोजकमा नेता बामदेव गौतम रहनुभएको छ भने केन्द्रीय कमिटी ७५ सदस्यीय रहेको छ । पार्टीको १५ सदस्यीय स्थायी कमिटी पनि रहेको छ ।

कार्यक्रममा नेताहरूले केन्द्रीय कमिटी सदस्यहरूको सङ्ख्या आवश्यकता अनुसार अझै बढाउँदै लगिने बताउनुभयो ।

पार्टीले गौतमको संयोजकत्वमा सचिवालय निमार्ण गर्ने र त्यसले अरू दलहरूसँग एकीकरणका लागि वार्ता र समन्वय गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।


ताजा खबर