४४औं राष्ट्रिय एथलेटिक्समा नेपाल आर्मी टिम च्याम्पियन

विभागीय टोली नेपाल आर्मी ४४औं राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । दशरथ रंगशालामा आइतबार सम्पन्न प्रतियोगितामा आर्मीले १८ स्वर्ण, १२ रजत र पाँच कांस्य जित्दै टिम च्याम्पियन बनेको हो ।

नेपाल एथलेटिक्स संघको आयोजनामा भएको प्रतियोगितामा एपीएफ क्लब नौ स्वर्ण, ६ रजत आठ कांस्य जित्दै तेस्रो भयो । तेस्रो भएको बागमती प्रदेशले तीन स्वर्ण, दुई रजत र ६ कांस्य जित्यो । ३२ स्वर्णका लागि भएको प्रतिस्पर्धामा बाँकी दुई स्वर्ण नेपाल पुलिस क्लबले जित्यो । पुलिसले तीन रजथ र चार कांस्य पनि जितेको छ । सात प्रदेश र तीन विभागीय गरी १० टिम सहभागी प्रतियोगितामा ६ टिम स्वर्णविहीन बने ।

प्रतियोगिताको पुरुषमा एपीएफका शिवराज पार्की तथा महिलामा च्याम्पियन टोली आर्मीकी जयरानी थारु उत्कृष्ट खेलाडी घोषित हुनुभयो । शिवराजले तीन स्वर्ण र एक रजत जित्नुभयो । जयरानीले दुई कीर्तिमानीसहित चार स्वर्ण चुम्नुभयो । जयरानीको नाममा थप एक रजत पनि रह्यो । जयरानीले एक सय र चार सय मिटर हर्डल्समा कीर्तिमान रच्नुभएको थियो ।

प्रतियोगितामा कूल तीन राष्ट्रिय कीर्तिमान बने । एक कीर्तिमान आर्मीका जीवन थारुले पुरुष एक सय १० मिटर हर्डल्समा बनाउनुभयो । जीवनले एक कीर्तिमानीसहित दुई स्वर्ण र दुईवटै रजत जित्नुभयो । राष्ट्रिय कीर्तिमानका लागि पाँच हजार रपियाँ पुरस्कार प्रदान गरियो । तीन दिने प्रतियोगितामा दुई सय ४० खेलाडीको सहभागिता रहेको थियो ।

विजेतालाई युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहलगायतले पुरस्कार प्रदान गर्नुभयो ।


ताजा खबर