खेलकुद मन्त्री र आईसीसी प्रतिनिधिबीच भेट

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज र आईसीसीका प्रतिनिधिबीच शनिबार भेटवार्ता भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को बैठक कक्षमा भएको भेटमा राखेपका उपाध्यक्ष शिव कोईराला, राखेपका सदस्य सचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, आईसीसी डेभलप्मेन्टका चेयरम्यान इमरान ख्वाजा, आईसीसी डेभलप्मेन्टका जेनरल म्यानेजर विलियम्स ग्लानराईट र आईसीसी फाइनान्स एन्ड ओपरेसन अफिसर नितिशा कोठारीको उपस्थिति थियो ।

सो अवसरमा मन्त्री गहतराजले नेपाल सरकारले क्रिकेटको विकासमा ध्यान केन्द्रीत गरी क्रिकेट रंगशाला निर्माणमा लगानी गरेको बताउदै झापा, चितवन, लुम्बिनी, मूलपानीलगायतका स्थानमा पूर्वाधार निर्माणको कार्य अघि बढिरहेको अवगत गराउनुभयो । मन्त्री गहतराजले नेपालमा क्रिकेटले पनि फुटबल सरहनै लोकप्रियता हासिल गरेको बताउदै आईसीसीले नेपाली क्रिकेटको विकासमा गरेको लगानीका लागि धन्यवाद दिनुभयो ।

सदस्यसचिव घिसिङले आईसीसी र परिषद्को दीर्घकालीन सम्बन्धको विकास गर्न क्रिकेट एकेडेमी र टेक्निकल हबको विकास र निर्माणमा सहकार्य गर्नुपर्नेमा जोड दिदै नेपाल अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न इच्छुक रहेकाले त्यसमा आईसीसीको सहयोग आवश्यक रहेको बताउनुभयो ।

आईसीसी प्रतिनिधिले नेपालमा क्रिकेटको ठूलो सम्भावना रहेको बताउदै विद्यालयमा क्रिकेटको विकास गर्न सके सरकारको मात्र भर परिरहनु पर्ने अवस्थाको अन्त्य हुने धारणा राख्नुभएको थियो ।

नेपालको क्रिकेट विकासमा सहयोग गर्ने आईसीसीको प्रतिबद्धता 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपाली क्रिकेट विकास लागि सधै सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाएको छ । नेपाल भ्रमणमा रहेको आईसीसी प्रनिनिधि मण्डलले शनिबार सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा उक्त प्रतिबद्धता जनाएको हो ।

आईसीसीले नेपाल क्रिकेट संघ (क्यान) को आर्थिक नियन्त्रण पूर्ण रुपमा हटाएसँगै क्यानमाथिको सम्पूर्ण निलम्बन फुकुवा भएको पनि उल्लेख गरेको छ । छलफलमा आईसीसीका प्रतिनिधि इमरान ख्वाजाले नेपाल माथि लगाएको आंशिक आर्थिक नियन्त्रण फुकुवा भएको औपचारिक जानकारी गराउनुभएको हो ।

क्यानमा राजनीतिक हस्तक्षेप र आर्थिक पारदर्शिता कायम नभएको भन्दै आईसीसीले सन् २०१६ अप्रिलमा निलम्बन गरेको थियो । यद्यपी नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा भने सहभागिता जनाउँदै आएको थियो । २०७६ असोजमा सम्पन्न विशेष साधारण सभामार्फ चतुरबहादुर चन्दको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको थियो ।

त्यसपश्चात आईसीसीले क्यानमाथि लगाएको निलम्बन सर्त राख्दै फुकूवा गरेको थियो । आईसीसीले क्यानको आर्थिक गतिविधिमा नियन्त्रण गरेकाले आर्थिक मामिलामा आईसीसीको भर पर्नुपर्ने अवस्था नेपाली क्रिकेटमा थियो । अब भने आर्थिक गतिविधि सहितको सबै निलम्बन हटेको र क्यानले आफ्नो योजना स्वतन्त तरिकाले अगाडि बढाउन पाउने क्यान अध्यक्ष चतुरबहादुर चन्दले बताउनुभयो ।


ताजा खबर