आयल निगमले घटायो पेट्रोल र डिजेलको मूल्य

सरकारको निर्देशनसँगै नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ।

निगमले आज राति १२ बजदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर २० र डिजेलको मूल्य प्रतिलिटर २९ का दरले घटाएको हो। शनिबार निगमले सूचना जारी गरी अब पेट्रोलको मूल्य प्रतिलिटर १७९ र डिजेलको मूल्य प्रतिलिटर १६३ कायम गरिएको जनाएको छ।

त्यस्तै, निगमले मट्टितेलको मूल्य पनि २९ रुपैयाँले घटाएको छ। अब मट्टितेल पनि प्रतिलिटर १६३ रुपैयाँ कायम गरिएको छ।

यसअघि पेट्रोल प्रतिलिटर १९९ र डिजेल तथा मट्टितेल प्रतिलिटर १९२ रुपैयाँ रहेको थियो। एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत रहेको निगमले जनाएको छ।

आज बिहान बसेको सत्तारुढ गठबन्धनको बैठकले पेट्रोलियम पदार्थमा लगाएको कर कटौती गर्न सरकारलाई निर्देशन दिएको थियो। त्यससँगै सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर समायोजन गर्ने निर्णय गरेको थियो।


ताजा खबर