सरकारले पेट्रोलियम पदार्थको मूल्य घटायो

पेट्रोलमा रु २० र डिजेलमा रु २९ मूल्य घट्यो / बजार अनुगमनलाई प्रभावकारी बनाइने 

सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

मन्त्रिपरिषद्को आज बसेको बैठकले पेट्रोलमा रु २० र डिजेलमा रु २९ मूल्य घटाएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी जानकारी दिनुभयो ।

उहाँका अनुसार पेट्रोलमा रु २० र डिजेलमा रु २९ मूल्य घटेको छ । जसअनुसार हाल पेट्रोलमा १९९ रहेकामा रु २० घटेर १७९ कायम गरिएको छ ।

त्यस्तै डिजेलमा १९२ बाट रु २९ घटाएर १६३ कायम गरिएको छ । नयाँ मूल्य आजै राति १२ बजेदेखि लागू हुनेछ । मन्त्रिपरिषद्को निर्णय लगत्तै मन्त्री बडूले पत्रकार सम्मेलन गरेर सो जानकारी दिनुभएको हो । “यो आजैको मन्त्रिपरिषद् बैठकको निर्णय हो । सुझावका आधारमा बैठकले निर्णय गरेको हो”, मन्त्री बडूले भन्नुभयो ।

उद्योग मन्त्री बडूले पेट्रोलियम पदार्थको अत्यधिक मूल्यवृद्धिले जनालाई मर्का परेको भन्दै थोरै भए पनि राहत हुने गरी मूल्य घटाइएको बताउनुभयो ।

सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर घटाएर भए पनि जनतालाई राहत दिनुपर्छ भन्ने हेतुले मूल्य घटाइएको उहाँले उल्लेख गर्नुभयो । “यसले समग्र समाधान त हैन तर, तत्काल जनताले भोगेको समस्यालाई केही राहत दिन्छ भन्ने सरकार र मन्त्रालयको विश्वास छ”, उहाँले भन्नुभयो ।

बजार अनुगमनलाई प्रभावकारी बनाइने 
सरकारले दैनिक उपभोग्य वस्तुको मूल्य नियन्त्रण र खाद्यवस्तुको अभाव हुन नदिन प्रभावकारी अनुगमन गर्ने भएको छ ।

उद्योग मन्त्री बडूले सङ्घ, प्रदेश र स्थानीय तहसँगको समन्वय र सहकार्यमा बजार अनुगमनलाई प्रभावकारी बनाई मूल्य नियन्त्रण गरिने विश्वास व्यक्त गर्नुभयो ।

बजारमा सबै उपभोग्य वस्तुमाथि भइरहेको मूल्य घटाई व्यवसायीले जनता उपभोक्तालाई राहत हुने गरी काम गर्न उहाँले आग्रह गर्नुभयो । मन्त्री बडूले उपभोग्य वस्तुमाथि कानून विपरीत मूल्यवृद्धि गरेको पाइएमा कारबाहीको दायरामा ल्याइने भन्दै यस कार्यमा सञ्चारमाध्यम र उपभोक्ताले सहयोग गर्नुपर्ने धारणा राख्नुभयो ।

अन्तर्राष्ट्रिय बजारमा पनि पेट्रोलियम पदार्थको अभाव र मूल्यवृद्धि बढिरहेकाले त्यसैको प्रभाव स्वरूप बजारमा अत्यावश्यक उपभोग्य वस्तुको मूल्यवृद्धिले सर्वसाधारण जनता मारमा परेको विषयप्रति सरकार गम्भीर र संवेदनशील छ ।

सोही विषयलाई मध्यनजर गर्दै सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले सर्वसाधारण जनतालाई असर पुर्‍याएकोले सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको मन्त्री बडूले जानकारी दिनुभयो ।

पेट्रोलियम पदार्थको मूल्य घटाउने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बिहान सत्ता गठबन्धनका शीर्षस्थ नेताहरूको बैठक भएको थियो ।

उक्त बैठकमा सम्बन्धित मन्त्रालयका सचिव र नेपाल आयल निगमका उच्च पदाधिकारीको उपस्थिति थियो । उक्त बैठकले वर्तमान अवस्थामा जनतालाई राहत दिने उद्देश्यले पेट्रोलियम पदार्थको मूल्य घटाउने सुझाव दिएअनुरूप मूल्य समायोजन गरिएको हो ।

बैठकमा प्रधानमन्त्री देउवाले तत्कालका लागि जनतालाई राहत हुने गरी पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न दिनुभएको निर्देशनबमोजिम मूल्य घटाइएको मन्त्री बडूले बताउनुभयो ।

सरकारी कार्यालयमा विद्युतीय सवारी

पेट्रोलियम पदार्थको खपत कम गर्न विद्युतीय चुल्हो र विद्युतीय सवारीसाधनमा प्रोत्साहन गरिने मन्त्री बडूले जानकारी दिनुभयो ।

बजेटमा व्यवस्था भएको विषयलाई कार्यान्वयन गर्न राष्ट्रिय योजना आयोगको उपाध्यक्षको संयोजकत्वमा गठित उच्चस्तरीय कार्यदलको सिफारिसअनुरूप कार्यान्वयन गरिनेछ ।

सरकारी कार्यालयमा विद्युतीय सवारीसाधन प्रयोग गर्ने, पुरानालाई विद्युतीयमा रूपान्तरण गर्ने तथा ठूला सवारीसाधनलाई विद्युतीय रूपान्तरण गर्ने नीतिगत निर्णय गरिनेछ ।

पेट्रोलियम पदार्थको खपत कम गर्न अन्य मुलुकको असल अभ्यासलाई पनि अध्ययन गरेर विज्ञसँगको परामर्शपछि निर्णय लिने र हालको निगमको व्यवस्थापनलाई चुस्त र प्रभावकारी बनाउन पनि कार्यदलले सुझाव दिएपछि कार्यान्वयनमा लगिने मन्त्री बडूले जानकारी दिनुभयो ।


ताजा खबर