असार १५ सम्म पाठ्यपुस्तक सबै विद्यालयमा पुर्‍याइने

नयाँ शैक्षिक सत्र सुरु भएको महिना दिन बितिसक्दा पनि सामुदायिक विद्यालयका विद्यार्थीले अझै पाठ्यपुस्तक पाउन सकेका छैनन् । पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्रले ९० प्रतिशत पाठ्यपुस्तक छपाएर वितरण गरिसकेको दाबी गर्दै असारको १५ गतेसम्म सबै ठाउँमा पुस्तकहरू पुगिसक्ने जनाएको छ ।

जनक शिक्षा सामग्री केन्द्रले दैनिक एक लाख पुस्तक छपाइ गरेको जनाए पनि नयाँ शैक्षिक सत्रका विद्यार्थीहरूले अझै पाठ्यपुस्तक पाउन सकेका छैनन् ।

विद्यार्थीहरूले समयमा पाठ्यपुस्तक नपाउने समस्या विगतदेखिकै भए पनि जनक शिक्षाले सामग्री केन्द्रले चाहिँ विश्व बजारमा कागजको अभाव भएर समयमा आपूर्ति गर्न नसकेका कारण समयमा पाठ्यपुस्तक छपाइ गर्न नसकेको जनाएको छ । केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झा हालसम्म आधा मात्रै कागज आएको बताउनुहुन्छ ।

विद्यालय तहका पाठ्यपुस्तक निःशुल्क उपलब्ध हुने व्यवस्था बमोजिम कक्षा १ देखि कक्षा ३ सम्म पाठ्यपुस्तक निजी क्षेत्रका मुद्रण व्यवसायी र कक्षा ४ देखि १० सम्मका पाठ्यपुस्तक सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले उत्पादन र वितरणको जिम्मेवारी पाएको छ ।

चालू शैक्षिक सत्रका लागि कक्षा ४ देखि १० सम्म कूल एक करोड ९८ लाख थान पाठ्यपुस्तक छपाइको लक्ष्य लिइएकोमा हालसम्म ९० प्रतिशत उत्पादन भई विक्री वितरण गरेको केन्द्रले जनाएको छ ।

केन्द्रका प्रबन्ध सञ्चालक झाका अनुसार असार  १५ गतेसम्म सबै विद्यार्थीले पाठ्यपुस्तक पाइसक्नेछन् ।

जनक शिक्षाले पुस्तक छपाइ गरेर वितरणमा पठाएको जनाए पनि अधिकांश विद्यालयमा सबै पाठ्यपुस्तक पुगेको छैन ।  अङ्ग्रेजी, सामाजिक र नेपाली विषयका पुस्तक निजी विद्यालयहरूले पनि लागु गरेकाले सामुदायिक विद्यालयमा अपुग भएको अनुमान गर्न सकिन्छ ।

हाल कक्षा ६ को अङ्ग्रेजी, सामाजिक र नेपाली र कक्षा आठको पुस्तकहरू अभाव देखिएका छन् । कतै पुरै कक्षाका पुस्तक पुगेका छैनन् भने केही कक्षामा पुगेका पुस्तक पनि पूरा नभएको विद्यालयहरूले जनाएका छन् ।

काभ्रेपलान्चोक जिल्लाको तेमाल गाउँपालिका भोज्र्याङ गाउँमा रहेको जनज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक भानुभक्त मैनाली कक्षा ६ मा दुई विषय र कक्षा आठको कुनै पनि पाठ्यपुस्तक आई नपुगेकाले पुराना पुस्तकबाट पठनपाठनलाई अगाडि बढाइरहेको बताउनुहुन्छ ।

त्यसो त वर्षेनी विद्यालय तहको पाठ्यपुस्तक अभाव हुँदै आएको छ । कोरोना महामारीका कारण ढिला गरी सुरु भएको शैक्षिक सत्रमा भर्ना भएका विद्यार्थीले समयमा पाठ्यपुस्तक नपाउँदा पठनपाठन प्रभावित भएको  छ । सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको विद्यालय तहको पाठ्यपुस्तक छपाइ र वितरण शैक्षिक सत्र सुरु हुनु अगावै गर्न सके वर्षेनी देखिने पुस्तक अभावको समस्या समयमै समाधान हुने देखिन्छ । -रासस


ताजा खबर