‘ ढुक्क छु !  चिसो मान्छेले दर्शकको न्यानो माया पाउँछ ’

मानवीय अनुभूतिको लिपि विश्वव्यापी हुन्छ। मान्छेको सुख, दुःख, रोदन, हाँसोमा गहिराइ फरक होला, तर अन्तर्य समान हुन्छ। पछिल्लो समय निर्देशक दीपेन्द्र के. खनालले यिनै कुराहरूलाई समातेर आफ्नो सिनेयात्रा अघि बढाइरहेछन् । ‘पशुपतिप्रसाद’, ’आमा’जस्ता सफल चलचित्र बनाइसकेका उनको नयाँ चलचित्र ‘चिसो मान्छे’ शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको छ। आफ्ना अघिल्ला सिनेमाहरूझैँ ‘चिसो मान्छे’ले पनि न्यानो माया पाउनेमा उनी ढुक्क छन्। ‘चिसो मान्छे’को सेरोफेरोमा न्युज एजेन्सी नेपालले गरेको कुराकानीको सम्पादित अंश :

THE TEASER OF ARPAN THAPA AND SWASTIMA KHADKA'S “CHISO MANCHHE” IS OUT – Street Nepal

यसअघिको फिल्ममा एउटी आमाको कथामा आधारित थियो। यसपटकको कथा कसको हो ?
‘आमा’मा एउटी आमाको भन्दा पनि एउटा नारीको कथा थियो। अझ भन्नुपर्दा तीनवटा नारीको कथा थियो। यसपालि पनि नारीकै कथा छ। समग्रमा नारीकै वरिपरि कथा घुम्छ।

चलचित्रले कस्तो नारीको कथा भन्छ ?
यो एउटा विद्रोहजस्तो छ चलचित्रमा। एउटा नारी पात्रले समाजसँग उसको अफ्ठेराहरूको विद्रोह। त्यो छनक ट्रेलरमा पनि देखिएको छ–गाडी पछाडि श्रीमान्काे शव छ, अगाडि बसेकी ऊ एउटा छुट्टै जोनमा छ। त्यसले गर्दा चलचित्रमा एउटा नारी विद्रोह जसरी धेरै कुरा छ।

‘यो पनि भन्नुपर्ने, देखाउनुपर्ने कथा हो’ भन्ने आत्मविश्वास तपाईंलाई केले दियो ?
यो नै बनाउँछु अथवा यो नै गर्छु भनेर म गर्दिनँ। मलाई मनमा लाग्नुपर्छ, मनमा छुनपर्छ आफैंलाई। विशेष गरी जन्म, मृत्यु, सम्बन्धका कथाहरूले मलाई धेरै छुन्छन्।

यो सिनेमा बनाइरहँदा तपाईंलाई गाह्रो लागेको कुरा के थियो ?
भाषाकै कुरा गाह्रो थियो । त्यो एउटा प्लानअनुसार हामीले जसरी गर्‍याै‌ँ, सहज भयो । अर्को यो ट्राभल फिल्म थियो, ट्राभल फिल्म भएपछि यहाँदेखि बाजुरासम्म गाडीमा खिच्नुपर्ने, बाटोमा आउने अफ्ठेराहरू –एकदमै गाह्रो थियो। पहिलो कोभिडको लकडाउन सकिनेबित्तिकै खुलेको सेटिङमा चलचित्रको कथा घुमेको छ। त्यो समय आफैँमा डरलाग्दो थियो । सिनेमा खिच्नलाई यहाँ (काठमाडौं)देखि बाजुरासम्म निस्किन्छु भन्दा परिवेश त्यतिखेर डरलाग्दो थियो। तर, चलचित्रको कथा पनि सेटिङ पनि ठ्याक्कै त्यही वेलाको भएकाले डरलाग्दो भए पनि चलचित्रमा त्यो वेलाको सेटिङ राख्न पाएँ।

पात्रहरूका लागि कलाकार छान्न कत्तिको सहज भयो ?
मैले आफैँ पनि लेख्ने भएकाले लेख्दालेख्दै लगभग हाम्रो इन्डस्ट्रिजमा भएका कलाकारको इमेज दिमागमा आउन थालिहाल्छ। त्यसले गर्दा पात्र छनोटमा खासै अप्ठेराे भएन।

निर्देशकका रूपमा सिनेमाप्रति तपाईंको आत्मविश्वास कति छ ? 
कन्फिडेन्स त छ। ट्रेलरले पनि देखाएको छ, दर्शकले एकदमै मन पराउनु भएको छ। ट्रेलरभन्दा सिनेमा एकदमै भिन्न छ, धेरै कुरा छ फिल्ममा। त्यसले गर्दा म आशावादी छु। दर्शकहरूले पक्कै पनि एक लेभलको मन पराउनुहुन्छ । र, जैले पनि म आफूले निर्देशकको हिसाबले काम गर्दा निर्देशकको ग्रोथ हुनुपर्छ भन्ने विश्वास राख्छु र त्यो ग्रोथ ’चिसो मान्छे’सम्म आइपुग्दा अझै बढेको छ भन्ने लाग्छ।

अहिलेसम्म तपाईंले बनाइसकेका सिनेमाहरूमा यो सिनेमा कहाँ छ ?
सबैका आ–आफ्ना विशेषता छन् । त्यसैले कहाँ पर्छन् भन्दा पनि, मैले अघि नै भनेँ, निर्देशकको ग्रोथ कत्तिको भएको छ भन्ने सिनेमामा देख्न पाइन्छ, त्यही हो ।

कति ग्रोथ भएको छ ?
त्यो त दर्शकले, समिक्षकले भन्नुहुन्छ होला । तर, मैले आफूले सकेको जति ग्रोथ गर्ने प्रयास गरेको छु ।

स्वमूल्यांकन त होला नि, एउटा विद्यार्थीले परीक्षा दिइसकेपछि यति आउला भनेर अनुमान गरेजस्तै ?
त्यही त मैले भनें नि, यो भन्दा अगाडिको चलचित्रभन्दा ग्रोथ छ मेरो ।

कलाकारहरूलाई आफ्नो पात्रमा छिर्न कत्तिको गार्हो भयो, उहाँहरू तपाईको दृश्य भाषामा कतिको खरो उत्रिनुभयो ?
मैले जस्तो सोचेको थिएँ, पात्रहरू यस्तो हुनुपर्छ, यस्तो बोल्ला, यस्तो गर्ला भन्ने । जोजोलाई छनोट गरेँ, पूर्णरूपमा सोचेको जस्तै भएको छ । अब सयमा सय त केही कुरा हामीले गर्न सक्दैनौं कति कुराहरू, तर सिनेमाको कति प्रतिशत आयो भन्दा एउटा मजाको लेभल आएको छ।

तपाईंले आफ्ना कलाकारहरूलाई उनीहरूको भूमिकाका बारेमा सुनाइरहँदा प्रतिक्रिया के–कस्तो थियो ?
सबैजना एकदमै एक्साइटेड हुनुभएको थियो । जस्तै स्वस्तिमालाई उताको भाषामा चलचित्र गर्ने खुब रहर रहेछ । अनि मैले अफर गर्दा उनी एकदमै एक्साइटेड थिइन् । उनले त्यो एक्साइटमेन्ट अनुसारकै सिनेमालाई दिनुपर्ने इनपुट दिएकी छिन् । त्यो ट्रेलरमा देखिएको छ । अर्पणकै कुरा गर्दा उनले गम्भीर भूमिका गरिरहेको थिएन । उसलाई ’आमा’मा दृश्यात्मक रूपमा नदेखिने, तर आवाजमा मात्र सुनिने छोरा पात्रमा राखेको थिएँ । त्यो फोनको संवादलाई नै दर्शकहरूले अति नै मन पराउनु भएको थियो ।

‘चिसो मान्छे’मा तपाईंले प्रस्तुत गर्नुभएको कथासँग दर्शकहरू कति सहमत हुनुहोलाजस्तो लाग्छ ?
कन्भिन्स हुनुहुन्छ । मैले भने नि जन्मको, मृत्युको अथवा सम्बन्धको कुरा सबैसँग रिलेटेबल हुन्छजस्तो लाग्छ । त्यसले गर्दा मैले जे कुरा भन्न खोजेको छु, त्यसमा कन्भिन्स हुनुहुन्छ भन्ने लागेको छ । –


ताजा खबर