रासायनिक मल ल्याउन भारतसँग जी-टू-जी सम्झौता

भारतले सरकार-सरकार (जी-टू-जी) सम्झौता मार्फत आगामी पाँच वर्षसम्म नेपाललाई निश्चित परिमाणमा रासायनिक मल उपलब्ध गराउने भएको छ।

भारतले नेपाललाई वार्षिक कम्तीमा एक लाख मेट्रिक टन युरिया तथा ५० हजार टन डीएपी मल उपलब्ध गराउने सम्बन्धी समझदारीपत्रमा सोमबार हस्ताक्षर भएको छ। नेपालका तर्फबाट कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्मा र भारतका तर्फबाट रसायन तथा मलखाद मन्त्रालयका सचिव राजेशकुमार चतुर्वेदीले भर्चुअल विधिबाट समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।

समझदारी अनुसार, यो वर्ष भारतले एक लाख टन युरिया र ५० हजार टन डीएपी मल उपलब्ध गराउनेछ। भारतले आगामी आर्थिक वर्षमा कुल एक लाख ७० हजार टन, तेस्रो वर्षमा एक लाख ९५ हजार टन, चौथो तथा पाँचौं वर्षमा दुई लाख १० हजार टन रासायनिक मल उपलब्ध गराउनेछ। यसको मूल्य तथा अरू शर्तका विषयमा थप सम्झौता हुनेछन्।

भारतसँग जी-टु-जी प्रक्रिया मार्फत रासायनिक मल खरीद गर्न नेपालले पहल गर्दै आएको थियो। नेपालले हरेक वर्ष समयमै रासायनिक मल भित्र्याउन नसक्दा खेतीपातीको समयमा चरम मल अभाव हुँदै आएको छ।

भारतसँग गरिएको समझदारी अनुसार मल आए पनि किसानको माग अनुसारको उपलब्धता भने हुनेछैन। नेपालमा वार्षिक सात लाख टन रासायनिक मलको माग हुने अनुमान छ।-रासस


ताजा खबर