किसानलाई सहजरुपमा मल उपलब्ध गराउन निर्देशन

प्रतिनिधिसभाको आजको बैठकले रासायनिक मल अभाव सम्बन्धी विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

नेकपा एमालेका सांसद विशाल भट्टराईले पेश गर्नुभएको रासायनिक मलसम्बन्धी जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव सर्वसम्मतिले पारित गर्दै प्रतिनिधिसभाले कुल ग्राहास्थ उत्पादनमा २५ प्रतिशत योगदान दिने कृषि क्षेत्रका समस्या समाधान गर्ने कार्यलाई प्राथमिकता दिँदै अत्यावश्यक रासायनिक मल कृषकलाई सहजरुपमा उपलब्ध गराउनका लागि सम्भाव्य सबै उपाय अवलम्बन गरी कार्य सम्पादन गर्न प्रतिनिधिसभाले नेपाल सरकारलाई निर्देश गरेको छ ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले रासायनिक मल कृषि उत्पादन वृद्धिको लागि अत्यावश्यक रहेको र हाल प्रमुख बालीको रुपमा रहेको धान बाली लगाउने समयमा समेत रासायनिक मल उपलब्ध नभएको विषयमा सदनको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो  ।

बैठकमा नेकपा एमालेका सांसद सांसद भट्टराई सहितले पेश गर्नुभएको जरुरी सार्वजनिक महत्त्वको सो स्थगन प्रस्तावमाथिको छलफलमा ४८ जना सांसदहरुले भाग लिनुभएको थियो ।

सांसहरुको छलफल पछि सकारका तर्फबाट कृषि तथा पशुपक्षी विकास मन्त्री महेन्द्रराय यादवले उक्त प्रस्तावमा सांसदहरुले उठाउनुभएको प्रश्नको जवाफ दिनुहुँदै बोलपत्रको लामो प्रक्रियाका कारण किसानले खोजेको समयमा मल उपलब्ध गराउन समस्या भएको भएको बताउनुभयो  ।

उहाँले रासायनिक मलको विषय देशको साझा समस्या भएकाले समाधानका लागि सबैको सार्थक पहल जरुरी रहेको र सहज रूपमा रासायनिक मल आयातका लागि सरकारी स्तरमा (जीटुजी) नै विशेष पहल गर्नुपर्ने र त्यसका लागि सरकार लागिपरेको बताउनुभयो   ।

सभामुख सापकोटाले बैठकमा पेस भएको अत्यन्त जरुरी सार्वजनिक महत्त्वको स्थगन प्रस्ताव, त्यसउपर छलफलमा भाग लिनुभएका सांसद र कृषि मन्त्रीको जवाफको पृष्ठभूमिमा सबैको समान धारणा देखिएकोले विशेष प्रस्ताव सदनमा पेस गर्नुभएको थियो ।


ताजा खबर