यस वर्ष भोटो देखाउने जात्रा धूमधामका साथ सम्पन्न

कोरोनाको कारण दुई वर्षपछि वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा धूमधामका साथ सम्पन्न भएको छ । विगतका दुई वर्षसम्म औपचारिकतामा मात्रै सीमित रहेको जात्रा कोरोनाको त्रास कम भएसँगै यस वर्ष भव्यताका साथ समापन गरिएको हो ।

गत वैशाख २१ गतेदेखि सुरु भएको रथ जात्रा आज भोटो देखाएसँगै यस वर्षको लागि जात्रा सकिएको हो । लगनखेलबाट जावलाखेल पुर्‍याइएको चौथो दिनको दिन भोटो देखाउने परम्पराअनुसार आज राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा ललितपुर जिल्ला गुठीका प्रमुख हरिप्रसाद सुवेदीले भोटो देखाउनुभएको हो । भोटोको अवलोकनसँगै राष्ट्रपति भण्डारीले कुमारीको हातबाट प्रसाद ग्रहण गर्नुभयो ।

उपत्यकाको सबैभन्दा लामो रातो मच्छिन्द्रनाथको जात्रा ललितपुरमा मात्रै नभई काठमाडौँ उपत्यकावासीकै सहभागितामा धूमधामका साथ मनाइँदै आएको छ । विगत दुई वर्ष कोभिड–१९ का कारणले जात्रा नियमित रूपमा सञ्चालन हुन नसकेकामा यस वर्ष उत्साहका साथ रथयात्रा सम्पन्न भएको गुठीका प्रमुख सुवेदीले बताउनुभयो ।

ज्योतिष दैवज्ञ कीर्तिमदन जोशीका अनुसार जावलाखेलको जात्रालाई सात गाउँको जात्रासमेत भन्ने गरिएको छ । भोटो देखाउने काम सकिएसँगै देवतालाई बुङ्मती लगिएको छ । देवता वर्षमा झण्डै आधा–आधा समय पाटन र बुङ्मती रहने गर्छन् । जात्रा समापन भयसँगै उक्त ऐतिहासिक भोटोलाई बुङ्मतीमा सुरक्षा घेरा दिएर राखिने पनि प्रमुख सुवेदीले बताउनुभयो ।

मच्छिन्द्रनाथलाई पुल्चोकबाट तानेर पाटनका विभिन्न स्थान हुँदै जावलाखेल सम्मको यात्रालाई त्रिलोक भ्रमण भन्ने गरिन्छ । ललितपुरवासीले विशेष महत्त्वका साथ मनाउने जात्रामा परम्परादेखि नै काठमाडौँ र भक्तपुरवासीको पनि सहभागिता रहँदै आएको छ ।

गाबहालबाट सुन्धारासम्मको यात्रा भक्तपुरका राजा नरेन्द्रदेवको र सुन्धाराबाट लगनखेलसम्मको यात्रा किसान ललित रथ चक्रको स्मरणमा हुने गरेको छ । अहिले पनि पुल्चोकबाट गाबहालसम्मको जात्रालाई काठमाडौँवासीको र गाबहालबाट सुन्धारासम्मको जात्रालाई भक्तपुरवासीको जात्रा भनिन्छ ।\

मच्छिन्द्रनाथको जात्राको तयारीका लागि गुठी संस्थान झण्डै वर्षभर नै लाग्ने गरेको छ । यस वर्ष झण्डै रु ५० लाख खर्च भएको कार्यालयले अनुमान गरेको छ । रासस


ताजा खबर