त्रिमूर्ति दिवसमा ६३ जनालाई पुरस्कार र पदक

प्रा.डा. वासुदेव त्रिपाठीले शनिबार राजधानीमा विभिन्न महानुभावलाई त्रिमूर्ति निकेतनका विविध विधाका पुरस्कार प्रदान गर्नुभएको छ।

त्रिपाठीले आधा शताब्दीदेखि नेपाली भाषासाहित्यको श्रीवृद्धिमा समर्पित रहँदै शास्त्रीय छन्दकविताको रचना एवम् छन्दकाव्यको प्रचार प्रसार अभियानमा विशिष्ट योगदान गर्नुहुने गोविन्दराज विनोदीलाई ‘लेखनाथ पौड्याल पुरस्कार’ प्रदान गर्नुभयो।

त्यसैगरी नेपाली नाट्यकलाको श्रीवृद्धिका लागि निरन्तर समर्पित रहँदै नाटक र चलचित्रको महिमा र गरिमालाई उत्कृष्टताको शिखरमा पुर्याउन अति विशिष्ट योगदान गर्नुहुने श्रीमती मिथिला शर्मालाई ‘बालकृष्ण सम पुरस्कार’ प्रदान गर्नुभयो।

त्यसैगरी शैलेन्द्र साकारलाई ‘देवकोटा काव्य पुरस्कार’ प्रदान गरिएको छ। ताम्रपत्रका साथै यी तीनै पुरस्कारका राशि जनही एक लाख रूपियाँ रहेको छ।

समारोहमा जनही पच्चीस हजार रूपियाँ राशि सहितको ‘भद्र घले पदक’ तारानाथ दाहाल र प्रा.डा. उषा ठाकुरलाई प्रदान गरियो। यो पदक त्रिमूर्ति निकेतनका सदस्यलाई मात्र प्रदान गरिन्छ।

त्रिपाठीले शताब्दी पुरुष सत्यमोहन जोशीको उचाइ अभिवृद्धिका लागि समर्पित ५८ महानुभावलाई सत्यमोहन जोशी शताब्दी पदक’ प्रदान गर्नुभयो।

‘सत्यमोहन जोशी शताब्दी पदक’ यसअघि २२६ जना महानुभावले ग्रहण गरिसक्नु भएको छ।


ताजा खबर