गणतन्त्र दिवस ८ सय १८ जना कैदीको बाँकी कैद सजाय मिनाहा

गणतन्त्र दिवसको अवसरपारी सरकारले ८ सय १८ जना कैदीको बाँकी कैद सजाय मिनाहा गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरूको कैद सजाय मिनाहा गर्नुभएको हो ।

सर्वोच्च अदालतको आदेशहरू समेतका आधारमा तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका खड्ग श्रेङ लिम्बूसहित २ सय ७१ जना र नरबहादुर साँवा समेतका ५ सय ४७ गरी कूल ८ सय १८ जना कैदीहरूको बाँकी कैद सजाय मिनाहा भएको राष्ट्रपतिको कार्यालयले जारी विज्ञप्तीमा जनाइएको छ ।

मन्त्रिपरिषद्को जेठ १० गतेको बैठकको सिफारिसमा २०७९ जेठ १५ गते देखि लागु हुने गरी ‘संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, फौजदारी कसूर (कैदकट्टा) नियमावली, २०७६ को नियम ३ अनुसार गणतन्त्र दिवस, २०७९ को अवसरमा उनीहरुको बाँकी कैद सजाय माफी मिनाहा भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

यसैगरी सरकारले उमाकान्त पराजुलीसहित १६ जना कैदीलाई माफी दिइएको छ । ‘संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७९ जेठ १३ को बैठकको सिफारिसमा उमाकान्त पराजुली समेतका १६ जना कैदीहरूको विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसला बमोजिम कैद सजाय गणतन्त्र दिवस, २०७९ को अवसरमा माफी भएको छ’, राष्ट्रपतिको कार्यालयले जनाएको छ ।


ताजा खबर