नेपाल आज टिमोर लिस्टेसँग मैत्रीपूर्ण खेल खेल्ने

एएफसी एसिया कप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज (शनिबार) राति टिमोर लिस्टेसँग प्रतिस्पर्धा गर्दैछ । नेपालले कतारको दोहामा टिमोर लिस्टेसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।  नेपाल र टिमोर लिस्टेबीचको खेल नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ । तयारीका लागि नेपाली टोली बुधबार कतार गएको हो ।

नेपाले टिमोरलिस्टेपछि जेठ २० गते ओमानसँग पनि कतारमै मैत्रीपूर्ण फुटबल खेल्ने कार्यक्रम रहेको छ । दुवै खेललाई विश्व फुटबल महासंघ (फिफा)ले भने मान्यता दिएको छैन । यसअघि दोहामा नेपालले अफगानिस्तानसँग मैत्रीपूर्ण खेल खेल्ने तय भएको थियो । तर अफागानिस्तानले अन्तिममा कतार आउन अस्वीकार गरे पनि उक्त खेल रद्ध भएको थियो । मैत्री खेल र एसिया कप छनोटका लागि एन्फाले नेपाली टोलीको कप्तानको जिम्मेवारी नवयुग श्रेष्ठलाई दिएको छ ।

नेपाली टोलीका सिनियर खेलाडी रोहित चन्दसहित बन्द प्रशिक्षणमा रहेका १० खेलाडीले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँग असहमति जनाउँदै बिद्रोह गरेर प्रशिक्षण क्याम्प छाडेपछि टोलीमा नयाँ खेलाडीलाई मौका दिईएको हो। विदेशमा रहनुभएका यसअघिका नियमित कप्तान किरण चेम्जोङले समेत विद्रोह गर्ने खेलाडीको पक्षमा समर्थन गरेपछि उहाँलाई पनि टोलीमा राखिएको छैन । प्रशिक्षक अल्मुताइरीले यसअघिनै मैत्री खेल र कुवेतमा २३ सदस्यीय खेलाडी टोलीको घोषणा गरिसक्नुभएको छ ।

नेपाली टोली मैत्रीपूर्ण खेल खेलेर उतैबाट कुवेत जानेछ । एसिया कप छनोट खेल कुवेतमा जेठ २५ देखि ३१ गतेसम्म कुवेतमा हुनेछ । छनोट खेलमा नेपाल समूह ‘ए’ मा परेको छ । तुलनात्मक रुपमा कठिन रहेको यस समूहमा नेपालसहित कुवेत, जोर्डन र इन्डोनेसिया छ ।  नेपालले समूहको पहिलो खेल जेठ २५ गते जोर्डन, २८ गते कुवेत र ३१ गते इन्डोनेसियासँग खेल्नेछ । समूहको शीर्षटोली र पाँच समूहको उत्कृष्ट उपविजेता टोली सन् २०२३ मा चीनमा आयोजना हुने एसिया कपका लागि छनोट हुनेछ ।


ताजा खबर