७४८ पालिकाहरुको अन्तिम मतपरिणाम सार्वजनिक

स्थानीय तह सदस्य निर्वाचनको आजसम्म ७४८ पालिकाहरूको अन्तिम मतपरिणाम सार्वजनिक भएको निर्वाचन आयोगले जनाएको छ भने, अझै ५ पालिकाको अन्तिम नतिजा सार्वजनिक हुन बाकी रहेको छ ।

सार्वजनिक भएको मत परिणामअनुसार नेपाली कांग्रेस १३८ नगरपालिका र १८८ अध्यक्षसहित ३२६ स्थानमा विजयी भएको छ । जारी मतगणनामा कांग्रेस दुई स्थानमा अगाडि छ । एमाले ८१ नगरपालिका र १२३ गाउँपालिकासहित २०४ स्थानमा विजयी भएको छ । माओवादी केन्द्र २५ नगरपालिका र ९६ गाउँपालिका गरी १२१ स्थानीय तहमा विजयी भएको छ ।

निर्वाचन आयोगका अनुसार काठमाडौँ महानगरपालिका, रौतहटको गरुडा र फतुवा विजयपुर नगरपालिका र उदयपुरको त्रियुगा नगरपालिकाको मतगणना भइरहेको छ ।

बाजुराको बूढीगङ्गा नगरपालिकामा अझै मतगणना सुरु हुन सकेको छैन । निर्वाचन आयोगका अनुसार काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ४८ हजार ४३२ मतसहित अग्रस्थानमा हुनुहुन्छ । उहाँको प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सिर्जना श्रेष्ठले ३० हजार ३९७ मत प्राप्त गर्नुभएको छ ।

यस्तै उपप्रमुखमा नेकपा (एमाले)का सुनिता डङ्गोलले ५३ हजार ६४२ मत प्राप्त गर्दा नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले १७ हजार ७५६ मत प्राप्त गर्नुभएको छ ।

उदयपुरको त्रियुगा नगरपालिकाको प्रमुखमा एकीकृत समाजवादीका बलदेव चौधरी ७४४ मतसहित अग्रस्थानमा हुनुहुन्छ । प्रतिद्वन्द्वी काँग्रेसका वसन्तकुमार बस्नेतले ३४४ मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)का गीता खड्का कार्कीले ८१८ मत प्राप्त गर्नुभएको छ भने प्रतिद्वन्द्वी काँग्रेसका सरिता राईले ३२० मत प्राप्त गर्नुभएको छ ।

रौतहटको गरुडा नगरपालिकाको प्रमुखमा एमालेका कन्थमनी प्रसाद कलवार तीन हजार ८०७ मतका साथ अगाडि हुनुहुन्छ । उहाँलाई एकीकृत समाजवादीका वृजकिशोर प्रसाद यादवले तीन हजार ४१८ मतका साथ पछ्याइरहनुभएको छ ।

उपप्रमुखमा काँग्रेसका पुनमकुमारी चौधरीले पाँच हजार १४८ मत प्राप्त गर्दा जनता समाजवादी पार्टी नेपालका विन्दुकुमारी देवीले तीन हजार १६४ मत प्राप्त गर्नुभएको छ ।

रौतहटकै फतुवा विजयपुर नगरपालिकाको प्रमुखमा काँग्रेसका गोपाल राय यादवले चार हजार ११७ मत प्राप्त गरी अग्रता लिइरहनुभएको छ । एमालेका विजय यादव दुई हजार ९२२ मतका साथ पछि हुनुहुन्छ । उपप्रमुखमा काँग्रेसका अमवेया खातुनले चार हजार २५१ मत र एमालेका कान्ती देवीले तीन हजार २७० मत प्राप्त गर्नुभएको छ ।

निर्वाचन आयोगले जारी गरेको हालसम्म प्राप्त नतिजाको विवरण अनुसार नेपाली काँग्रेसले पहिलो स्थानमा छ भने नेकपा एमाले दोस्रो स्थानमा रहेको छ । त्यस्तै, नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ ।

निर्वाचन आयोगले जारी गरेको नतिजाका लागि  तलको लिङ्कमा क्लिक गरेर हेर्न सक्नुहुनेछ । 

निर्वाचन आयोगद्वारा जारी बिवरणका लागि यहाँ क्लिक गर्नुहोस:


ताजा खबर