गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिता आजदेखि

सर्वोच्च नेता गणेशमान सिंहको स्मृतिमा गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता मंगलबारदेखि काठमाडौँमका सुरु हुने भएको छ । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा हुने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीको सहभागिता रहनेछ ।

काठमाडौँको बसन्तपुर डबलीमा शनिबारसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको प्रतियोगिता संयोजक राजीव श्रेष्ठले जानकारी दिनुभयो । ‘प्रतियोगितामा सहभागिता जनाउन सातै प्रदेशका खेलाडी, प्रशिक्षक र टिम व्यवस्थापक काठमाडौँ आइसकेका छन् । हामी सबै खेलाडी, प्रशिक्षक र अफिसियलको ब्यवस्थापनमा जुटेका छौँ,’ श्रेष्ठले भन्नुभयो । 

प्रतियोगितामा पुरुषतर्फ ४८, ५७, ६३, ६९, ७५, ८१, ९१ केजी गरी सात वटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यसैगरी महिलातर्फ ४८, ५४-५७, ६०, ६४-६९, ६९-७५ केजी गरी पाँच वटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा प्रदेश १ बाट सात पुरुष र चार महिला, मधेश प्रदेशबाट सात पुरुष र पाँच महिला, बागमती प्रदेशबाट सात पुरुष र तीन महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । यसैगरी गण्डकी प्रदेशबाट सात पुरुष र तीन महिला, लुम्बिनी प्रदेशबाट ६ पुरुष र चार महिला, कर्णाली प्रदेशबाट ६ पुरुष र चार महिला, विभागीय टोली त्रिभुवन आर्मी क्लबबाट सात पुरुष र पाँच महिला, एपीएफबाट सात पुरुष र पाँच महिला र नेपाल पुलिस क्लबाट चार पुरुष र दुई महिला खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा ६५ पुरुष र ३७ महिला गरी १०२ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताका हरेक तौल समूहका विजेताले २५ हजार रुपियाँ पुरस्कार पाउनेछन् । यसैगरी दोस्रो हुनेले १५ हजार र तेस्रो स्थान हात पार्ने दुई खेलाडीले जनही सात हजार पाँच सय रुपैयाँ पुरस्कार पाउनेछन् । यसैगरी उत्कृष्ट पुरुष खेलाडीलाई मोटरसाइकल र उत्कृष्ट महिला खेलाडीलाई स्कुटर प्रदान गरिने पनि प्रतियोगिता संयोजक श्रेष्ठले जानकारी दिनुभयो । -रासस


ताजा खबर