निर्वाचन आचारसंहिता स्वीकृत : राजपत्रमा प्रकाशित

उम्मेदवार बन्ने स्थानीय तहका पदाधिकारीका नाममा पेस्की बेरुजु भए अनिवार्य फर्छ्योट हुनुपर्ने

निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आचारसंहिता स्वीकृत गरेको छ ।

आयोगबाट स्वीकृत आचारसंहिता, २०७८ आज नेपाल राजपत्रमा प्रकाशित भएको छ ।

विभिन्न व्यक्ति, संस्था एवं अधिकारीले पालना गर्नुपर्ने आचारसंहिता उल्लङ्घनका कारण स्वच्छ, भयरहित र मर्यादित वातावरणमा निर्वाचन सम्पन्न गर्न बाधा पुग्ने भएमा आयोगले सम्बन्धित उम्मेदवारको उम्मेदवारी समेत रद्द गर्न सक्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

आचारसंहिता आयोगले तोकेको मितिदेखि लागू हुनेछ ।

निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्ने स्थानीय तहका पदाधिकारीका नाममा पेस्की बेरुजु भए अनिवार्य फर्छ्योट हुनुपर्ने प्रवक्ता पौडेलले बताउनुभयो ।

आयोगले स्थानीय तह निर्वाचन प्रयोजनका लागि दर्ता भएका राष्ट्रिय मान्यता प्राप्तबाहेकका ७३ राजनीतिक दललाई यही चैत ६ गतेभित्र जिल्लास्तरको सङ्गठन संरचनाको विवरण पेश गर्न आग्रह गरेको छ ।

निर्वाचनको काममा खटिने जनशक्तिको प्रतिव्यक्ति २० लाख रुपैयाँको सामूहिक दुर्घटना बिमा गर्न राष्ट्रिय बिमा संस्थानसँग सम्झौता गरिएको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

स्थानीय तह निर्वाचनका लागि आवश्यक मतदाता नामावली, मतदाता परिचयपत्रलगायत निर्वाचन सामग्री छपाइका लागि आज बोलपत्र प्रकाशन गरिएको आयोगले जनाएको छ । -रासस


ताजा खबर