त्रिदेशीय सिरिजमा पीएनजीमाथि नेपालको रोमाञ्चक जित

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) माथि दुई विकेटको रोमाञ्चक जित निकालेको छ । यूएईको सारजाह क्रिकेट मैदानमा बुधबार भएको खेलमा दुई सय पाँच रनको विजय लक्ष्य पछ्याएको नेपालले ४९.२ ओभरमा आठ विकेटको क्षतिमा दुई सय १० रन बनायो ।

नेपालका लागि रोहित पौडेलले सर्वाधिक ५८ रन बनाउनुभयो । आरिफ शेखले ५३ रन बनाउनुभयो । एकदिवसीय क्रिकेटमा रोहित र आरिफले एक सय दुई रनको कीर्तिमानी साझेदारीसमेत गर्नुभएको छ । करण केसीले अविजित २९, आशिफ शेखले १६, विनोद भण्डारीले १२, दिपेन्द्रसिंह ऐरी र सोमपाल कामीले समान आठ-आठ रन बनाउनुभयो । बलिङमा पीएनजीका अलेई नाओ, नोरमान भानु र रिले हेकुरेले दुई दुई विकेट लिनुभयो । असद भाला र चद सोपरले एक एक विकेट लिनुभयो ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पीएनजीले ५० ओभरमा आठ विकेट गुमाएर दुई सय चार रन बनाएको थियो । पीएनजीका लागि चार्ल्स अमिनीले ५९ रन बनाउनुभयो । चद सोपरले ३५, ओपनर टोनी उराले २७, लेगा सियकाले २५, नोरमान भानुले २३ र असद भालाले १९ रन बनाउनुभयो ।

बलिङमा नेपालका सोमपाल कामीले तीन विकेट लिनुभयो । कप्तान सन्दीप लामिछाने, आरिफ शेख र ज्ञानेन्द्र मल्लले समान एक एक विकेट लिनुभयो । लिग–२ मा नेपालले नौ खेल खेल्दै पाँच जित र चार हार खेपेको छ । १० अंक बनाएको नेपाल अहिले तालिकाको छैटौँ स्थानमा यथावत छ । नेपाल लिगमा कम खेल खेल्ने टोली पनि हो । पीएनजीले भने अहिलेसम्म खाता खोल्न सकेको छैन ।

सिरिजमा नेपालले मार्च १८ मा यूएई, मार्च २१ मा पुनः यूएई र मार्च २२ मा पीएनजीसँग प्रतिस्पर्धा गर्नेछ । सात टोली सहभागी लिग–२ मा सबै राष्ट्रले एकआपसमा ३६ वटा खेल खेल्नेछन् । ३६ खेलपछि शीर्ष तीनमा रहने टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकपमा छनोट हुनेछ । -रासस


ताजा खबर