राष्ट्रपतिद्वारा नयाँ बौद्ध भिक्षु भिक्षुणीहरुलाई संघदान प्रदान

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ बौद्ध भिक्षु भिक्षुणीहरुलाई संघदान प्रदान गर्नुभएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित नेपाल बज्रयान महाविहार सङ्घ प्रबज्या संवर कार्यक्रममा राष्ट्रपति भण्डारीले बुद्ध मन्त्रोच्चारणसहित बौद्ध भिक्षु भिक्षुणीहरुलाई संघदान प्रदान गर्नुभएको हो ।

त्यस अवसरमा राष्ट्रपति भण्डारीले बौद्ध दर्शनको सांस्कृतिक आध्यात्मिक परम्पराबाट मौलिकता अभिवृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रपति भण्डारीले हरेक धर्मको संरक्षण संवर्द्धन मा जोड दिँदै नेपालमा बौद्ध परम्पराको संरक्षण र संवर्द्धनका लागि आफूले पनि आवश्यक भूमिका निर्वाह गर्न तयार रहेको बताउनुभयो ।

राष्ट्रपति भण्डारीले नेपालमा विगतमा राजतन्त्र रहँदा मनाइँदै आएको नेपाल सम्यक् महादान पर्व पुनः मनाउने मागका सन्दर्भमा आफू सकारात्मक रहेको र त्यस सम्बन्धमा आवश्यक छलफल गरी निर्णय लिइने बताउनुभयो ।

कार्यक्रममा प्राध्यापक डा.नरेशमान बज्राचार्यले नेपाल सम्यक् महादान पर्व मनाउने परम्पराको पुनः सुरुवात गर्नेतर्फ सरकारको साथ आवश्यक रहेको बताउनुभयो ।

सोही समारोहमा लुम्बिनीमा निर्माण भइरहेको बजरङ्ग विहारको निर्माण नयाँ वर्षमा पुरा गर्ने गरी काम भइरहेको र त्यसको निर्माणबाट कलात्मक माध्यमबाट नेपालको पहिचान झल्किने भएकाले सो विहार लुम्बिनीमा महत्त्वपूर्ण आकर्षक स्थल बन्ने जानकारी पनि प्राध्यापक डा. बज्राचार्यले गराउनुभएको थियो ।


ताजा खबर