ग्राण्डीमा १०३ जना बिरामीको मिर्गौला प्रत्यारोपण

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा हालसम्म १०३ जना बिरामीको मिर्गौला प्रत्यारोपण गरिएको छ ।

नेपाल सरकारले निजी क्षेत्रवाट सञ्चालित अस्पताललाई प्रत्यारोपण अनुमति दिएसँगै सन् २०१६ जुलाईमा पहिलो पटक मिर्गौला प्रत्यारोपण शुरु गरेदेखी हालसम्म १०३ जना बिरामीको मिर्गौला प्रत्यारोपण गरेको हो ।

अस्लेपतालले शुक्रबार एक कार्यक्रमको आयोजना गरी सो जानकारी दिँदै मिर्गौला प्रत्यारोपणमा महत्त्वपूर्ण भूमिका खेल्ने डाक्टर तथा नर्सलाई सम्मान समेत गरेको हो ।

कार्यक्रममा अस्पतालका अध्यक्ष इन्जिनियर दीपक कुँवरले नेपालमा मिर्गौला प्रत्यारोपण चुनौतीपूर्ण भए पनि १०० भन्दा बढी बिरामीको सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गर्नु ठूलो कुरा हो भन्नुभयो ।

नेपाल मिर्गौला प्रत्यारोपण केन्द्रका प्रमुख प्रा.डा. भोलाराज जोशीले मिर्गौला दान गर्नेको सङ्ख्या मुलुकमा बढाउनु जरुरी रहेको बताउनुभयो ।

सन् २००८ मा नेपालमा पहिलो पटक मिर्गौलाको सफल प्रत्यारोपण भएको स्मरण गर्दै हाल देशभर एक हजार ५०० बढी बिरामीको मिर्गौला प्रत्यारोपण भइसकेको उहाँले बताउनुभयो । “नेपालका बिरामी मिर्गौला प्रत्यारोपणका लागि विदेश जान नपरोस्, स्वदेशमा नै सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गर्न पाइयोस्”, उहाँले भन्नुभयो ।

अस्पतालका मेडिकल डाइरेक्टर डा. विनोद विजुक्छेले १०३ जना बिरामीको सफलतापूर्वक मिर्गौला प्रत्यारोपण भए पनि दुई जनाको निमोनियाका कारण, दुई जनाको कोरोनाका कारण र एकजना बिरामीको उच्च रक्तचापका कारण मृत्यु भएको समेत जानकारी दिनुभयो । -रासस


ताजा खबर