प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिताको तयारी पुरा

बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा शनिवारबाट हुने प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । 

बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालयको आर्थिक सहयोगमा हुन लागेको प्रथम प्रदेश स्तरीय खेलकुद प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले जानकारी दिनुभयो । 

बागमती प्रदेशको राजधानी हेटौँडामा शनिबार बृहत् रुपमा प्रतियोगिताको उद्घाटन गरिने उहाँले बताउनुभयो । हेटौँडाको क्याम्पाचौरमा नेपाल आर्मी, नेपाल प्रहरीको व्याण्ड सहितको प्रस्तुति, विद्यार्थीहरुद्धारा ड्रिल प्रदर्शन, अतिसबाजी, मार्सल आट्र्स डेमो, विभिन्न झाँकी तथा सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरिदैं प्रतियोगिताको उद्घाटन गरिने भण्डारीले बताउनुभयो । प्रतियोगिता अन्तरगत मकवानपुर, चितवन, काभ्रे, काठमाडौँ र सिन्धुपाल्चोक जिल्लामा खेलहरू आयोजना हुने उहाँले बताउनुभयो । 

भण्डारीका अनुसार मकवानपुरमा २९ गते आइतबारबाट पुरुष फुटबल, व्याडम्निटन र चैत्र ५ गतेबाट तेक्वान्दो प्रतियोगिता सुरु हुनेछ । यस्तै चितवनमा ३० गतेदेखि भलिबल र क्रिकेट खेल सुरु हुने छ । यस्तै चैत्र ६ गतेबाट काठमाडौँमा एथलेटिक्स, चैत्र ७ गतेबाट सिन्धुपाल्चोकमा कराते,  चैत्र ७ गतेबाटै काभ्रेमा महिला फुटबल र ९ गतेदेखि बक्सिङ खेल प्रतियोगिता हुने भण्डारीले बताउनुभयो ।

प्रतियोगिताको लागि आठ करोड ४ लाख रकम खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिता अन्तरगत विभिन्न खेलमा करिब २ हजार भन्दा बढी खेलाडीले सहभागिता जनाउनेछन् । खेलको समापन कार्यक्रम १२ गते शनिबार काभ्रेको धुलिखेलमा हुने भण्डारीले बताउनुभयो । 


ताजा खबर