‘म जीवनलाई सार्थक तुल्याउने बाटो खोजिरहेकी हुन्छु’

गायन, लेखनसँगै अध्यात्म, बौद्ध दर्शन र समाजसेवामा स्थापित नाम हो आनी छोइङ् डोल्मा । फुलको आँखामा फुलै सन्सार शिर्षक गीतका कारण निकै लोकप्रियता कमाउन सफल गायिका आनीको पछिल्लो पुस्तक सिङ्गिङ फर फ्रिडम हालसालै नेपाली भाषामा अनुवाद सहित प्रकाशित भएको छ । उनीसँग गरिएको सफल कुराकानीको सम्पादित अंश ।

‘सिङ्गिङ फर फ्रिडम’ कस्तो पुस्तक हो ?

‘फूलको आँखा’ को अंग्रेजी संस्करण हो । शुरूमा फ्रेञ्च भाषामा निस्किएको यो किताब नेपाली पाठकका लागि नेपाली संस्करणमा आयो । अहिले अंग्रेजी भाषाका नेपाली र विदेशी पाठकका लागि अंग्रेजी संस्करणमा निकालिएको हो ।

पुस्तकको मूल भाव के हो ?

मानवभित्र रहेका अवगुणहरूलाई सद्गुरुको सही मार्गदर्शनबाट गुणमा परिवर्तन गर्न सकिन्छ भन्ने मेरो संघर्षशील जीवनकथा छ, यसमा । मनमा रहेका अप्रिय कुराहरूलाई प्रियतामा बदल्न सकिन्छ भने किन अप्रियतामै रहने ? अनि मनले नै सारा संसारलाई शान्त वा अशान्त बनाउँछ भन्ने कुरा पाठकले महसूस गर्न सक्नुहुन्छ ।

नेपाली संस्करणको प्रतिक्रिया कस्तो रह्यो ?

कतिले मेरा बाल्यकालका कुरा थाहा पाएर बिचरा भने । कतिले जीवनको दुःखदायी क्षणलाई बिर्सिएर सम्भावनाहरूलाई पछ्याउनुपर्छ भन्ने यसको मूल सन्देशलाई लिए । पुस्तक पढेपछि श्रीमान्—श्रीमतीबीचको लामो बेमेल अन्त्य भएको र आमाबाबुप्रति श्रद्धा बढेको धेरै प्रतिक्रिया आए । किताबले मानिसलाई सोच्न सघाएजस्तो लाग्छ ।

राम्रो आध्यात्मिक गायिका राम्रो लेखक बन्न लागेको संकेत हो यो ?

म लेखक होइन, आफ्नो कथा सुनाएकी मात्र हुँ । त्यो कथा राम्ररी प्रस्तुत हुँदा पाठकहरूले मन पराउनुभयो । मलाई चित्त नबुझेसम्म छाप्न पाउनुहुन्न भन्ने शर्त चाहिं प्रकाशकहरूसँग राखेकी थिएँ ।

तपाईं आनी, गायिका र लेखकमध्ये बढी के हो ?

म आफू के हुँ भनेर सोच्नुभन्दा पनि जीवनलाई सार्थक तुल्याउने बाटो खोजिरहेकी हुन्छु । युरोप–अमेरिकामा मलाई गायिकाको रूपमा लिन्छन् भने एशियाका बौद्ध मुलुकहरूमा आध्यात्मिक गायिकाको रूपमा बढी बोलाउँछन् । उनीहरूले जसरी बोलाए पनि सकारात्मक सन्देश दिनु मेरो उद्देश्य हुन्छ ।

Ani Choying Drolma

तपाईंको कर्म समाजसेवासँग जोडिएको छ, हैन ?

हो । मेरो विषयमा अमेरिकाको एल म्यागाजिन ले लेखेपछि फ्रेञ्च प्रकाशकले पुस्तक लेख्न पटक-पटक आग्रह गर्दा नमानेकी म मिर्गौला रोगीहरूका लागि आरोग्य फाउण्डेसन स्थापना गर्दा रकम जुटाउन प्रस्ताव स्वीकारें । उनीहरूले मलाई ४० हजार युरो दिएर किताब तयार पारे । ‘सिङ्गिङ फर फ्रिडम’को रोयल्टी पनि नेपालयले सीधै फाउण्डेसनमा पठाउने छन् ।

तपाईं सफल व्यक्ति हो ?

सन्तुष्टलाई सफल मान्ने हो भने म सफल मान्छे हुँ । मैले खासै केही दिन नसके पनि मानिसहरूले मलाई गरेको माया–सम्मान देख्दा म धेरै भाग्यमानी हुँ भन्ने लाग्छ । मलाई गायन र किताबतिरको सफलता यत्तिकै आएको हो । किनभने, मेरो जीवनको लक्ष्य गायिका वा लेखक बन्ने थिएन । मेरा लागि गायन र लेखन अध्यात्मका दुई पखेटा भएका छन् ।


ताजा खबर