कोरोनाको औषत संक्रमण ११.८ प्रतिशतले घट्यो

नेपालमा केही दिनयता कोरोना संक्रमितको संख्या घट्दै गइरहको छ। गत हप्ताको तुलनामा औषत संक्रमणदर ११.८ प्रतिशतले कमी आएको मन्त्रालयका प्रवक्ता डा.संगीता मिश्राले जानकारी दिनुभयो।

गत हप्ता एक लाख २० हजार २९९ आरटी पीसीआर परीक्षण गर्दा ६९ हजार ६६५ जनामा कोरोना पुष्टि भएको थियो। यो हप्ता घटेर ८४ हजार २३१ जनाको आरटी पीसीआर गर्दा २९ हजार ६९० जनामा कोरोना पुष्टि भएको प्रवक्ता डा. मिश्राले जानकारी दिनुभयो। आरटी पीसीआर गर्दा एक हप्तामा नेपालमा १४.३ प्रतिशतले संक्रमणदर कमी आएको हो।

त्यस्तै एक हप्ता एन्टिजेनबाट परीक्षण गर्दा संक्रमणदर २.९ प्रतिशतले घटेको छ। ३८ हजार ४३३ जनाको एन्टिजेन परीक्षण गर्दा १३ हजार ७७१ जनामा कोरोना पुष्टि भएको थियो। भने यो हप्ता २९ हजार २७४ जनामा एन्टिजेन परीक्षण गर्दा १२ हजार ९२७ जनामा कोरोना पुष्टि भएको छ। मन्त्रालयको तथ्यांक हेर्दा पुस २० गतेबाट उकालो लागेको कोरोना संक्रमितको ग्राफ माघ १० गते पुनः ओरालो लाग्दै गइरहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

ओरालो लाग्दै कोरोना संक्रमण

नोभेम्बरको अन्तिममा दक्षिण अफ्रिकामा पहिलो पटक कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको थियो। त्यसयता यो भेरियन्ट विश्वभर तीव्र गतिमा फैलियो। मन्त्रालयको तथ्यांक अनुसार नेपालमा पहिलो पटक पुस १९ गते तीन जनामा ओमिक्रोन पुष्टि भएको थियो। सरकारले ओमिक्रोन भेरियन्ट नेपालमा देखिएको जानकारी दिँदा दैनिक करिब २ सयको आसपासमा संक्रमण पुष्टि भइरहेको थियो।

कोरोना संक्रमितको ग्राफ पुस १९ गते परीक्षण गरिएका मध्ये २.६ प्रतिशतमा कोरोना पुष्टि भएको थियो। त्यसयता कोरोना संक्रमणदर उकालो लाग्दै आइरहेको छ। परीक्षण गरिएका मध्ये पुस १९ गते २.६ प्रतिशतमा संक्रमण पुष्टि भएको थियो। यो दर पुस २५ गते बढेर ९.१ प्रतिशतमा पुगेको थियो। यो संख्या पुस ३० गते पुग्दासम्म २४.७ प्रतिशत पुगेको थियो।

यसरी मन्त्रालयको आँकडा विश्लेषण गर्दा माघ १ गते ३१.८ प्रतिशतमा कोरोना पुष्टि भएको देखिन्छ। यो संख्या माघ ५ गते ४८.४ प्रतिशत पुगेको छ। तेस्रो भेरियन्ट फैलिएपछि माघ १० गते अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको देखिन्छ। माघ १० गते परीक्षण गरिएकामध्ये ४८.६ प्रतिशतमा संक्रमण पुष्टि भएको छ। त्यसयता भने संक्रमण दर विस्तारै घटेको देखिन्छ। माघ ११ गते ४६.३ प्रतिशतमा संक्रमण पुष्टि हुँदा माघ १२ गते ४१.५ प्रतिशतमा झरेको छ। त्यस्तैयो संख्या घटेर माघ १७ गते ३२.८, माघ १८ गते ३२.५ र माघ १९ गते ३१.४ प्रतिशतमा झरेको छ।

कोरोना संक्रमणदर पछिल्लो केही दिनदेखि घट्दै गएको भए पनि यसको जोखिम कायम रहेकोले सजग र सतर्क रहनु पर्ने मन्त्रालयका प्रवक्ता डा. मिश्राको आग्रह छ। यसअघि नै स्वास्थ्य मन्त्रालयले ३–४ सातामा संक्रमणदर उच्च बिन्दुमा पुग्ने र विस्तारै ओरालो लाग्ने बताएको थियो। विश्वका अन्य देशको तथ्यांक हेर्दा यो भेरियन्ट ३ देखि ४ हप्ता उच्च हुने र विस्तारै ओरोलो लाग्दै गएको देखिएको छ।

के भन्छन् विज्ञ ?
संक्रमितको संख्या विस्तारै ओरालो लाग्दै गएको सरुवा रोग विशेषज्ञ प्रा.डा.जनक कोइरालाको भनाइ छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनले अस्पतालमा बिरामीको चाप घट्दै गएको छ। ‘तेस्रो लहर लगभग ४ हप्ता चलेकोले सुरुवाती चरणमा घरमा अन्य परिवारलाई पनि संक्रमण फैलने डरले पीसीआर गराउनेको संख्या ह्वात्तै बढेको थियो’, उहाँले भन्नुभयो, ‘अहिले परीक्षण घटेसँगै संक्रमण दर पनि घटेको छ।’

अस्पतालमा संक्रमित भर्ना हुनेदरमा पनि कमी आएको शिक्षण अस्पतालका फोकल पर्सन डा. निरज बम बताउनुहुन्छ। दोस्रो लहरको तुलनामा अस्पतालमा संक्रमितको भर्ना दर कम भए पनि दीर्घ रोगीलाई गाह्रो बनाएर आइसीयू भेन्टिलेटरमा भर्ना हुने अवस्था गरेको डा. बम बताउनुहुन्छ।

डा. बमका अनुसार अस्पतालमा पछिल्लो केही दिन यता अस्पतालमा दैनिक १० देखि १५ जना संक्रमित भर्ना हुने गर्दछन्। उहाँका अनुसार अस्पतालमा अहिले ४० जना संक्रमित आईसीयूमा उपचाररत छन्।

१० दिनमा १०९ जनाको मुत्यु
माघ १० गतेदेखि १९ गते सम्म १०९ जना संक्रमितको मुत्यु भएको मन्त्रालयको तथ्यांकले देखाउँछ। योसँगै नेपालमा कोरोना संक्रमितको मुत्यु हुनेको संख्या ११ हजार ७६४ पुगेको छ। नेपालमा कोरोना संक्रमितको मुत्युदर १ Þ३ रहेको छ। पछिल्लो केही दिन यता नेपालमा कोरोनामुक्त हुने संख्या बढ्दै गएको छ। माघ १० गते देखि १९ गतेसम्म दिनमा ५७ हजार ३३ जना कोरोना संक्रमित संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांकले देखाउँछ। योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ८ लाख ७८ हजार ७२० पुगेको छ। संक्रमणमुक्त हुने दर ९१.६ प्रतिशत पुगेको छ।

नेपालमा अहिलेसम्म एन्टिजेन र आरटी पीसीआर परीक्षण गर्दा १० लाख ९१ हजार ८८८ जनामा कोरोना पुष्टि भएको छ। सक्रिय संक्रमितको संख्या ६९ हजार २९१ रहेका छन्। जसमध्ये ६७ हजार ८२५ जना होम आइसोलेसन रहेका छन्। त्यस्तै संस्थागत आइसोलेसनमा १४ सय ६६ जना संक्रमितको उपचार भइराखेको छ। जसमध्ये २७० जना आईसीयू र ५२ जना भेन्टिलेटरमा उपचाररत छन्।


खोप कतिले लगाए
नेपालमा खोप अभियान सुरु भएदेखि अहिलेसम्म तीन करोड २४ लाख ५८ हजार २९९ मात्रा खोप लगाइएको छ। जसमा एक करोड ७१ लाख ४४ हजार ८६७ ले एक मात्रा, एक करोड ४८ लाख २८ हजार ९५३ ले पूर्णमात्रा र चार लाख ८४ हजार ४७९ जनाले अक्तिरिक्त मात्रा खोप लगाएका छन्।

कुल जनसंख्याका ५६.४ प्रतिशतले एक मात्रा र ४८.८ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन्। त्यस्तै १८ वर्ष भन्दा माथीका लक्षित जनसंख्याको ८६.१ प्रतिशतले एकमात्रा र ७४.४ प्रतिशतले पूर्णमात्र खोप लगाएका छन्।


ताजा खबर