नेपालगन्ज नाका खुल्यो : आवागमन सुचारु

२५ कार्तिक २०७६, सोमबार

अयोध्याको जग्गा विवादको फैसलाका कारणले ‘सील’ गरिएको नेपालगन्ज नाका खुलेको छ। आइतबार दिउँसोदेखि नाका सुचारु भएको हो। भारतीय सुरक्षाकर्मीले आइतबार बिहानैदेखि ‘अत्यावश्यक’ कामका लागि जान दिएको थियो। पूर्णरूपमा खोलेको थिएन।

कामका लागि भारत जान थालेका धेरै मानिसहरु नेपालगन्ज नाकामा अलपत्र परेपछि भारतीय पक्षले उनीहरुलाई बिहानैदेखि जान दिएको थियो। दशैं र तिहार मनाएपछि मौसमी कामका लागि भारतका विभिन्न शहरमा जान थालेका पहाडी जिल्लका नेपालीहरु नाका सील हुँदा नेपालगन्जमा अलपत्र परेका थिए।

अयोध्याको विवादित जग्गामा राम मन्दिर बनाउन दिने र बाबरी मस्जिदलाई अर्को ठाउँमा जग्गा दिने भारतीय सर्वोच्च अदालतको फैसलापछि सुरक्षा चुनौतीहरु देखिन सक्ने आँकलन गर्दै नेपालगन्ज नाका सील गरिएको थियो। शनिबार बिहानैदेखि सील गरिएको नेपालगन्ज नाका आइतबार दिउँसोदेखि सुचारु भएको छ।

बाँके प्रहरी प्रवक्ता डीएसपी शिवबहादुर सिंहले आधिकारिक रूपमा जानकारी नगरे पनि नाका सुचारु भएको बताउनुभयो। भारतीय पक्षले नेपाली अधिकारीलाई थाहा नै नदिई एक्कासि नाका सील गरेको थियो। उसले त्यसैगरी सुचारु गरेको छ। नाका सील गरे पनि भारतीय अधिकारीले एम्बुलेन्स भने जान दिएको थियो।


ताजा खबर