पुनः श्रम स्वीकृति अबदेखि अनलाइन प्रणालीबाट मात्र

वैदेशिक रोजगार कार्यालय, काठमाडौंले भोलिदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिने भएको छ ।

२०७७ पुसबाट भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट पुनः श्रम स्वीकृतिको काम भइरहेकोमा अबदेखि अनलाइनबाट मात्र पुनः श्रम स्वीकृतिको काम हुनेछ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृतिको व्यवस्थाले वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा पुगेर घर बिदामा आएका नेपाली कामदारले पुनः श्रम स्वीकृति लिन वैदेशिक रोजगार कार्यालयमा पुगेर घन्टौंसम्म लाइनमा बस्नुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य हुने बताउनुभयो ।

मन्त्रालयका सचिव एकनारायण अर्यालले सूचना प्रविधिको अधिकतम उपयोग गरी श्रम स्वीकृतिलाई पेपरलेस बनाइ सहज रूपमा सेवा प्रदान गर्न सरकारले यस्तो व्यवस्था मिलाएको बताउनुभयो ।

पुनः श्रम स्वीकृतिको अनलाइन सेवा लिन सेवाग्राहीले वैदेशिक रोजगार विभागको वेभसाइटको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली मार्फत आवश्यक सबै कागजात सहित फाराम भर्नुपर्नेछ ।

यसका लागि सुरुमा विभागको वेभसाइट डब्लु डब्लु डब्लु डट डिओएफइ डट जीओभी डट एनपीमा गई अनलाइन श्रम स्वीकृतिमा क्लिक गर्नुपर्ने हुन्छ । अथवा सिधै ‘एफइआईएमएस डट डिओएफइ डट जीओभी डट डट एनपीमा गएर पनि खोल्न सकिनेछ ।

श्रम स्वीकृतिको कागजात जाँच गर्दा कुनै कारणले आवेदन अस्वीकृत भएमा सो को कारण सहितको सूचना आवेदकको मोवाइल नं। र आवेदन गर्दाको युजर एकाउण्टमा जाने हुँदा आफ्नो व्यक्तिगत मोवाइल नं. र इमेल ठेगाना अनिवार्य रुपमा भर्नुपर्नेछ ।

युजरनेम र पासवर्ड प्रयोग गरी अर्कोपटक श्रम स्वीकृति लिन श्रम स्वीकृतिको अवस्था थाहा पाउन, विवरण हेर्न र उजुरी वा गुनासो गर्न सकिने भएकोले आवेदन गर्दाको युजरनेम र पासवर्ड सुरक्षित राख्नुपर्ने हुन्छ ।

अनलाइनमा कागजातहरु जाँच गर्न समय लाग्ने भएकोले कम्तीमा तीन दिन अगाडि अनलाइन फाराम भर्न र श्रम स्विकृति लिइसकेपछि मात्र हवाइ टिकटको प्रबन्ध गर्न कार्यालयले आग्रह गरेको छ । उडान हुने मिति सम्म श्रम स्वीकृतिको म्याद ९० दिन भन्दा बढी हुनुपर्ने भएकोले सो बमोजिम भए नभएको एकिन गर्न पनि कार्यालयले भनेको छ ।

पुनः श्रम स्विकृतिको लागि म्यादी जीवन विमा र वैदेशिक रोजगार कल्याण कोषको रकम अनलाइन भुक्तानी प्रदायक मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ ।-रासस


ताजा खबर