अक्सिजनसहित तयार रहन सबै अस्पताललाई निर्देशन

 नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन बढ्न थालेपछि सरकारले अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै अत्याधिक बिरामीको चापलाई थेग्न सक्ने गरी अस्पतलालाई तयारी अवस्थामा रहन निर्देशन दिएको हो ।

विज्ञप्तीमा डेल्टा भेरियन्टको तुलनामा ओमिक्रोन संक्रामक भएकाले धेरै मानिस संक्रमित हुनसक्ने भन्दै अस्पताललाई तयारी अवस्थामा रहन उल्लेख गरेको छ । मन्त्रालयले पूर्ण रुपमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गर्दै सही तरिकाले हात धुन, मास्कको प्रयोग गर्न, बारम्बार हात धुन तथा दुई मिटरको दूरी कायम गर्न समेत सर्वसाधारणहरुलाई आग्रह गरेको छ ।

त्यस्तै मन्त्रालयले एस जिन स्क्रिनिङ गर्ने सुविधा वीर अस्पताल, निजामती कर्मचारी अस्पताल (सिभिल), वीरेन्द्र सैनिक अस्पताल, त्रिवि शिक्षण अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रदेश २ र भेरी अस्पतालमा थप गरेको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
नेपालमा आज थप २४ जनामा ओमिक्रोन भेरियन्ट पृष्टि भएको छ । पुस महिनामा एक हजार १४६ पोजिटिभ नमुनाको एसजिन स्क्रिनिङ गर्दा २५० वटा नमुनामा २२ प्रतिशत एसजिन नेगेटिभ पत्ता लागेको मन्त्रालका प्रवक्ता संगीता मिश्राले जानकारी दिनुभएको छ।

एस जिन नेगेटिभ पत्ता लागेकामध्ये २४ नमूनाको जिन सिक्वेन्सिङ गर्दा सबै नमूनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ । यसअघि नेपालमा तीन जनामा ओमिक्रोन संक्रमण पुष्टि भइसकेको छ । यो संगै नेपालमा ओमिक्रोन पृष्टि हुनेको संख्या २७ पुगेको छ। नेपालमा पछिल्लो केही दिन यता कोरोना संक्रमितको संख्या बढ्दै गइरहको छ ।

नेपालमा कोरोना सङ्क्रमणको दर फेरि बढेको छ । आज मात्रा कोरोनाबाट संक्रमित हुनेको सङ्ख्या ९ सय ६८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

यसअघि हिजो देशभरि ५ सय ४० जनामा संक्रमण पुष्टि भएको थियो । यो साताको पहिलो दिन गत पुस १८ गते आइतबार २ सय १६ जनामा संक्रमण पुष्टि भएको थियो । 

१४ हजार ९ सय ७१ जनाको नमुनाको परीक्षण गर्दा आज ९ सय ६८ मा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । 

यसैगरी आजै २४ जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन समेत पुष्टि भएको मन्त्रालयले जनाएको छ । 


ताजा खबर