स्वर्ण विजेता महिला भलिबल टोली स्वदेश फिर्ता

बङ्गलादेशमा सम्पन्न एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपको उपाधि विजेता नेपाली महिला टोली आज स्वदेश फर्किएका छन् ।

नेपाली टोलीलाई युवा तथा खेलकुद मन्त्री महेश्वरजङ्ग गहतराज, नेपाल भलिबल सङ्घका अध्यक्ष मनोरञ्जन रमन शर्मालगायतले नेपाली टोलीलाई स्वागत गर्नुभयो । विमानस्थलमा टोलीलाई बाजा बजाएर स्वागत गरिएको थियो ।

गत मङ्गलवार सम्पन्न फाइनल खेलमा नेपालले उज्वेकिस्तानलाई पराजित गर्दै स्वर्णपदक हात पारेको थियो ।

 बङ्गलादेशको मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर हलमा भएको खेलमा नेपालले उज्वेकिस्तानलाई ३–२ को सेटमा पराजित गर्दै स्वर्ण पदक जितेको हो । 

उक्त प्रतियोगितामा नेपाल लगातार दोस्रो पटक च्याम्पियन बनेको हो । यसअघि सन् २०१९ मा बङ्गलादेशमै भएको खेलमा नेपालले मालदिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि रक्षा गरेको थियो । 

त्यस्तै पुरुषतर्फ खेलमा भने नेपाल चौथो स्थानमा रह्यो । तेस्रो स्थानका लागि भएको भिडन्तमा उज्वेकिस्तानसँग नेपाल ३–० को सेटमा पराजित भएसँगै चौथो स्थानमा रहेको हो । पुरुष टोली पनि आजै स्वदेश फर्किएका छन् । 

सरकारले उक्त च्याम्पियन टोलीका १२ सदस्यीय खेलाडीलाई जनही रु पाँच लाख तथा दुई प्रशिक्षकलाई जनही रु तीन लाख दिने निर्णयसमेत गरिसकेको छ । –रासस


ताजा खबर