नेपालको पपुवा न्यूगिनीमाथि १५१ रनको विशाल जित

नेपालले दोस्रो अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा पपुवान्यूगिनीलाई १५१ रनको फराकिलो अन्तरले हराएको छ । दोस्रो एकदिवसीय खेलमा जितसँगै नेपालले दुई खेलको मैत्रीपूर्ण प्रतिस्पर्धा २–० ले जितेको छ ।

नेपालले प्रस्तुत गरेको २३४ रनको औसत लक्ष्य पछ्याउने क्रममा पपुवान्यूगिनी मात्र १९ ओभर १ बलमा ८२ रनमा समेटिन पुग्यो । पपुवान्यूगिनीका लागि ओपनर टोनी उराले बनाउनुभएको १९ रन नै सर्वाधिक ब्यक्तिगत् योगफल रहन गयो । उराले चालर्स एमिनिसँग तेस्रो विकेटका लागि गरेको २९ रनको साझेदारी नै उसको पारीको सर्वाधिक ठूलो साझेदारी रहन गयो ।

नेपालको बलिङमा सन्दीप लामिछानेले सर्वाधिक छ विकेट लिए । उनले पाँच ओभर एक बलमा मात्र ११ रन खर्चेर छ विकेट लिए । सोमपाल कामी, बिक्रम सोब र सुशन भारीले एक एक विकेट लिए ।

त्यसअघि, एमिरात क्रिकेट ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले कमजोर सुरुवात गर्दै नौ रनमै ओपनर ब्याट्सम्यानद्वय कुशल भुर्तेल र आशिफ शेषलाई गुमाउन पुग्यो । कप्तान ज्ञानेन्द्र मल्लले रोहित पौडेलसँग तेस्रो विकेटका लागि ८९ रनको साझेदारी गरेर नेपाली पारी उकास्ने प्रयत्न गरे । तर मल्ल ७० बलमा ४५ रन बनाएर पेभेलियन फर्किए ।

विकेटकीपर ब्याट्सम्यान बिनोद भण्डारी, कुशल मल्ल र सोमपाल कामी समेत सस्तोमै पेभेलियन फर्किदा नेपालले ४१ औं ओभरमा मात्र १६६ रन जोडेको थियो । अर्को छेउबाट रोहित पौडेलले संयमित पारी खेल्दा करण केसीले विष्फोटक ब्याटिङ गर्दै मात्र २६ बलमा दुई चौका र चार छक्काको सहयोगमा ४२ रनको उत्कृष्ट पारी खेले । छ विकेटको क्षतिमा २३२ रन रहेको नेपालको योगफलमा एक रन जोडिदा चार जना ब्याट्सम्यान पेभेलियन फर्किए । सातौं विकेटको रुपमा करण केसीलाई गुमाएको नेपालले थप एक रन जोडन बिक्रम सोब, सन्दीप लामिछाने र रोहित पौडेललाई गुमाउँदै २३३ रनमा समेटिन पुग्यो ।

नेपाललाई संकटको समयमा संयमित पारी खेल्नुभएका रोहित पौडेल शतक लगाउनबाट चुके । पौडेल ८६ रनको ब्यक्तिगत् योगफलमा पेभेलियन फर्किदा नेपालले आठ बल खेल्न बाँकी थियो । उनले १२३ बलको सामना गर्दै दुई चौका र तीन छक्का लगाए ।

पपुवान्यूगिनीका लागि काबुआ मोरे, नोर्मान भानुआले दुई दुई तथा चाड सोपरले तीन र चालर्स एमिनिले एक विकेट लिए । सन्दीप प्लेयर अफ द म्याच घोषित भए ।


ताजा खबर