तीजको पाहुर

~आशा पन्त

दुःख पीडा सबै हटोस् उच्च रहोस् भावना

यो  तीजको सबैलाई शुभकामना ।

पोहोरको साल जस्तो थियो त्यस्तै अहिले वर्ष नि 

छैन हेर कसैको मन खुसी हर्ष नि ।

लकडाउन भयो कोरोनाले झण्डै दुई वर्ष नै

चाडपर्व र रङ्ग रौस छैन हर्ष नै ।

कस्तो हो यो कोरोना कताबाट आयो नि 

गरी खाने जनतालाई दसा लाग्यो नि ।

कोरोनाले लग्यो भन्छन् झन्डै दस हजार

झन्डै ममा परेन कालको नजर ।

जताततै छायो हेर,विश्व मास्‍ने कोरोना

हे ईश्वर !  भगवान् रक्षा गर न ।

महामारीको पीडाले नै मनमा पीर गहिरो छ

त्यसै माथि हत्याहिंसा बाढी पहिरो छ ।

महामारी ,कोरोना बाढी पैरो अति भो

देशै भरि धनजनको ठुलो क्षति भो ।

कति मरे रोगले त कति मरे भोकले

कति त यसै मरे शोकैशोकले ।

सरकार भने लाग्यो कुर्सी कै खेलमा 

जनताको हेरविचार गर्ने बेलामा ।

कति राहत आउँछ जनताको नाममा 

सिटामोल र जीवनजल पाइनँ गाउँमा ।

देशविदेश  बाट आको सहयोग नेताको पेट भर्ने हो

दुःखी गरिब जनता त्यसै मर्ने हो ।

साह्रै पीर लाग्छ हेर सम्झँदा नि देशको हाल

नमरी बाँचे फेरि भेटौँ अर्को  साल ।                                                  


ताजा खबर