भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या फेरी घट्यो

भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि कमी आएको छ । 

पछिल्लो समय केरला राज्यमा दैनिक सङ्क्रमितको सङ्ख्या एकाएक बढेपछि देशभरिको सङ्ख्यामा पनि वृद्धि देखिएको थियो । 

यसअघि दैनिक ४० हजारभन्दा बढी सङ्क्रमित थपिने गरेकामा अहिले घटेर ३१ हजार पुगेको अधिकारीले जानकारी दिएका छन् । 

केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलवार बिहान सार्वजनिक गरेको विवरणअनुसार भारतमा थप ३१ हजार २२२ जना नयाँ सङ्क्रमित थपिएका छन् । तीमध्ये केरला राज्यमा मात्रै १९ हजार ६८८ जना सङ्क्रमित भएका छन् । 

भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या तीन करोड ३० लाख ५८ हजार ८४३ पुगेको मन्त्रालयले जनाएको छ । त्यसै गरी एक दिनमा ४२ हजार ९४२ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । 

कोरोना शुरु भएदेखि हालसम्म भारतमा ३ करोड २२ लाख २४ हजार ९३७ जना यस रोगबाट मुक्त भएका सरकारी अधिकारीले मङ्गलवार जानकारी दिएको छ । 

पछिल्लो ७१ दिनदेखि भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या ५० हजारभन्दा कम हुँदै आएको छ । त्यसै गरी पछिल्लो केही दिनदेखि सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्यामा पनि वृद्धि भएको छ । मङ्गलवार प्राप्त समाचारअनुसार हाल भारतमा सक्रिय सङ्क्रमित सङ्ख्या तीन लाख ९२ हजार ८६४ जना छन् । 

भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म ४ लाख ४१ हजार ४२ जनाको मृत्यु भएको छ भने तीमध्ये २९० जनाको पछिल्लो एक दिनमा मृत्यु भएको हो । –रासस


ताजा खबर