पपुवा न्यु गिनीसँगको मैत्रीपूर्ण खेल नेपालले जित्यो

पपुवा न्यु गिनी (पीएनजी) विरुद्धको मैत्रीपूर्ण एक दिवसीय क्रिकेटमा नेपाल विजयी भएको छ ।  उसले दिएको १३५ रनको लक्ष्य पछ्याएको नेपाल २ विकेटले विजयी भएको हो । 

नेपाललाई जिताउनका लागि रोहित पौडेल र सोमपाल कामीको प्रदर्शन उत्कृष्ट रह्यो । 

सामान्य लक्ष्य पछ्याउने क्रममा नेपालको मिडिल अर्डर यस पटक पनि धरमराउन पुग्यो । ओपनिङ साझेदारीको रूपमा कुशल भुर्तेल र अशिफ शेखले मजबुत (४६) रनको साझेदारी गरे पनि त्यसपछि लगातार विकेट पतन हुँदा नेपालको पुरानै ब्याटिङ समस्या यस पटक पनि देखियो ।

नेपालको स्कोर बोर्डमा सर्वाधिक रन बनाउने खेलाडी छैटौँ नम्बरमा क्रिजमा आएका रोहित पौडेल हुन् । उनले सर्वाधिक ४१ रन बनाएका थिए । जितका लागि १ रन आवश्यक परेका बेला रोहित आउट भएका थिए । 

यसैगरी दोस्रो सर्वाधिक रन बनाउने खेलाडी आशिफ शेख हुन् । उनले ३० रन बनाउँदा सोमपाल कामीले नट आउट २२ रनको योगदान गरे । यसैगरी कुशल भुर्तेलले १५ रन बनाउँदा अन्य खेलाडीको प्रदर्शन सम्झन लायक रहेन ।


कप्तान ज्ञानेन्द्र मल्ल र अर्का भरपर्दा खेलाडी शरद भेषावकरले ६–६ रन बनाउँदा आरिफ शेखको ब्याटबाट ९ रन आउट हुनुपरेको  थियो । 

नेपालका लागि सन्दीप लामिछानेले चार विकेट लिँदा आजै डेव्यु गरेका विक्रम सोबले २ विकेट लिएका थिए । यसैगरी कुशल मल्लले दुई विकेट लिँदा सोमपाल कामीले एक विकेट लिए ।

नेपाल, ओमन र अमेरिकासँगको आइसिसी विश्वकप लिग दुई अन्तर्गतको सिरिजका लागि अहिले ओमानमा रहेको छ । उक्त सिरिज अघि नेपाली टिमले पीएनजीसँग मैत्रीपूर्ण खेल खेलेको हो । –रासस


ताजा खबर