आज निजामती सेवा दिवस : उत्कृष्ट ४० कर्मचारी पुरस्कृत

नेपालका निजामती कर्मचारीले आज निजामती सेवा दिवस मनाउँदै छन् । ‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’भन्ने नाराका साथ निजामती सेवा दिवस मनाइँदै छ । ”

विसं २०१३ भदौ २२ गते पहिलो निजामती सेवा ऐन जारी गरिएका अवसरमा २०६१ सालदेखि यो दिवस मनाउन थालिएको हो ।

यसैबिच निजामती सेवा दिवस, २०७८ का अवसरमा आजै ४० कर्मचारीलाई पुरस्कृत गरिने भएको छ । पुरस्कृतमध्ये १० कर्मचारीलाई उत्कृष्ट निजामती सेवा पुरस्कार’ प्रदान गर्ने निर्णय गरिएको छ भने ३० जनालाई निजामती सेवा पुरस्कारबाट सम्मानित गरिने भएको हो ।

मन्त्रिपरिषद्को भदौ २१ को निर्णयअनुसार सर्वोच्च अदालतका सहरजिस्ट्रार विमल पौडेल, राष्ट्रिय योजना आयोगका सहसचिव डा. किरण रुपाखेती, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव राजेन्द्रकुमार केसी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव विष्णुदत्त गौतम र स्वास्थ्य सेवा विभागका निर्देशक डा. भीमसिं तिङ्करीलाई उत्कृष्ट निजामती सेवा पुरस्कार’ प्रदान गर्ने निर्णय गरिएको हो ।

त्यसैगरी महान्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता हरिशङ्कर ज्ञवाली, महालेखा परीक्षकको कार्यालयका निर्देशक नेत्रप्रसाद पौडेल, कृषि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक सुमना अर्याल वाग्ले, बेनी नगरपालिका म्याग्दीका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी र महिला तथा बालबालिका विभागका नायब सुब्बा कमला ढकाल काफ्लेलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो ।

त्यसैगरी यस वर्षको निजामती सेवा पुरस्कार’ लक्ष्मीकुमारी बस्नेत, ज्ञानराज सुवेदी, कोशलचन्द्र सुवेदी, विष्णुप्रसाद शर्मा, दिलीपकुमार गौतम, भोलाप्रसाद चापागाईं, शान्ता नेपाल मरासिनी, डा. भोजराज शर्मा (काफ्ले), गुरुप्रसाद वाग्ले, विपुलकुमार लाल दास, सूर्यप्रसाद सापकोटालाई प्रदान गर्ने निर्णय गरिएको छ ।-रासस


ताजा खबर