नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित देश

‘देशप्रेम र बहादुरीका कथाका सिनेमामा काम गर्ने रहर छ’

अभिनेता दयाहाङ राई नेपाली सिनेक्षेत्रको स्थापित नाम हो । उनले सयौं नाटक र दर्जनभन्दा बढी सिनेमामा आफ्नो कला र कौशल देखाइसकेका छन् । रङ्गमञ्चबाट ठुलो पर्दामा आएर पनि उत्तिकै सफलता हात पार्न सफल अभिनेता राईसँग नेपाली सिनेक्षेत्रसँग सम्बन्धित सफल कुराकानीको सम्पादित अंश :

नेपाली सिनेक्षेत्रले कोरोना महामारीलाई कसरी खेपिरहेकोे छ ?

यस अवधिका हामी कलाकारहरू त जसोतसो बाँचेकै छौँ । कसैले म्युजिक भिडियो बनाएर त सकैले युट्युब च्यानल चलाएर गुजारा चलाइरहेकै छाैँ । तर, प्राविधिकलगायतका साथीहरूको भने दैनिकी निकै कठिन बनिरहेको छ ।


कोरोना त वर्षौंसम्म पनि रहिरहन सक्छ । सधैँ यसरी नै त नेपाली सिनेक्षेत्र टिक्दैन होला ? 

हो । अब हामीले पनि समयअनुसार चल्ने तयारी थाल्नुपर्छ । विदेशमा जस्तो डिजिटल प्लेटफर्महरूमा अवसर खोज्नुपर्छ । परम्परागत तरिकाहरूमा सुधार गर्दै जानुपर्छ ।
अहिले केमा व्यस्त हुनुहुन्छ ? 

म आजकाल सामाजिक अवस्था बुझ्ने प्रयत्न गर्दै छु । यसैसँग सम्बन्धित रहेर केही कार्यक्रममा सहभागिता पनि जनाइरहेको छु । सामाजिक विभेदविरोधी जागरण अभियानलाई पनि सघाउँदै छु । 


अलि फरक प्रसंग, तपाईंलाई प्रत्यक्ष देख्ने फ्यानहरूले ‘हिरो’जस्तो नै रहेनछ भन्छन रे नि ?

सायद म साधारण मानिससरह कदकाठीको भएकाले होला । मैले सुनेको छु, धेरै ठाउँमा प्रशंसकहरूले ‘हिरो भनेको त मान्छे पो आएछ’ भन्छन् । ‘ए, दयाहाङ राई त हामीजस्तै पो रहेछ’ भन्छन् । उहाँहरूलाई हिरो भनेको अग्लो, गठिलो शरीर भएको, सधैँ मेकअपमा रहने, महँगो नयाँ फेसन गर्ने र सधैँ वरिपरि मानिसले घेरिएर बस्न रुचाउने, सहजै भेटघाट नदिने खालको हुन्छ भन्ने लागेर पनि होला । तर, मेरो आफ्नै स्वभाव छ । म जहाँ जाँदा पनि सबैसँग नम्र बोल्छु । सबैसँग सहजै भेट्छु ।

तपाईंलाई  यस्तो विषयमा अभिनय गर्न पाए हुन्थ्यो भन्ने कुनै विषय छ ?

समाजको चरित्रअनुसार यथार्थपरक कथामा आधारित सिनेमामा अभिनय गर्न रहर छ । जातिय विभेद, असमानता, गरिबी, विकटता बारेका यथार्थ घटनामा लेखिएका कथामा अभिनय गर्न रुचि छ । 

अहिले नेपालमा बनिरहेका सिनेमाहरूलाई कसरी समीक्षा गर्नुहुन्छ ?

व्यावसायिक रूपले सिनेमा राम्रा–नराम्रा दुवै खाले बनेका छन् । लगानी पनि बढ्दै गएको छ । तर, यथार्थमा आधारित चलचित्रहरू अझै अपेक्षाअनुसार बनेका छैनन् । सायद समाजलाई गहिरोसँग बुझेर कथाहरू नलेखिएकाले पनि होला । अझै धेरै देशप्रेम र बहादुरीका कथाहरूमा यथार्थ सिनेमा बन्न बाँकी छ । देशको इतिहास र चर्चित घटनाहरूबारे अझै सिनेमाहरू बनेका छैनन् । अझै सामाजिक, सांस्कृतिक रहसनसहन, गरिबी, विभेद, सामाजिक अन्तर्घुलन, नागरिक जागरण, भौगोलिक विकटताको दुःखकष्ट अनि विकास र अधिकारको वञ्चितीकरणबारे सिनेमा बन्न बाँकी छ । 

यस्ता सिनेमा नबन्नुमा लगानी डुब्छ भनेर पनि होला कि ? 
मलाई लाग्दैन सामाजिक यथार्थ कथाहरूमा आधारित फिल्म बनायो भने चल्दैन र लगानी डुब्छ । मज्जाले चल्छन् । मात्र सिनेमा बनाउने र अभिनय गर्ने कला राम्रो र स्तरीय हुनुपर्‍यो । 

सिनेमा बनाउँदा दर्शकको रुचिलाई पनि त ख्याल गनुपर्छ होला नि ?
पर्छ । तर, दर्शकको परम्परागत रुचिलाई हामीले काल्पनिकताबाट यथार्थमा फर्काउनुपर्छ । र, नेपाली सिनेक्षेत्रले चाह्यो भने त्यो सक्छ पनि । यथार्थमा आधारित सिनेमाहरूले दर्शकलाई समाज मात्र बुझाउँदैन, समस्या समाधानका लागि सन्देश पनि दिन्छन् । यसैले दर्शकको रुचिलाई नेपाली सिनेमा क्षेत्रले काल्पनिकताबाट फर्काएर यथार्थपरक बनाउँदै लानुपर्छ । 


ताजा खबर