भारतविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल २-१ ले पराजित

चिरपरिचित प्रतिद्वन्द्वी भारतसँगको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा घरेलु टोली नेपालले हार बेहोरेको छ ।


त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आइतबार भएको खेलमा नेपालले भारतसँग २–१ को हार बेहोरेको हो । बल पोसेसनमा पकड राखे पनि नेपालले फिनिसिङमा चुक्दा झिनो हार बेहोर्न पुग्यो । पहिलो मैत्रीपूर्ण खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।


सब्सिच्युट फारुकहाजी कासम चौधरीले ६२ औँ मिनेटमा गोल गर्दै भारतलाई अग्रता दिलाए । उनी दोस्रो हाफको सुरुमै मैदान प्रवेश गरेका थिए । 


६८ औँ मिनेटमा विशाल राई र नवयुग श्रेष्ठको समन्वयमा बनेको मुभमा नवयुग चुक्दा नेपालले खेललाई बराबरी गर्न सकेन । उनले पेनाल्टी बक्समा सुवर्ण अवसर चुकाएका थिए । ७४ औँ मिनेटमा मनिष डाँगीको प्रहार पोस्ट नजिकैबाट बाहिरियो । 


८० औँ मिनेटमा कप्तान सुनिल क्षेत्रीले गोल गर्दै भारतको अग्रता दोब्बर पारे । 


८७ औँ मिनेटमा तेज तामाङले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । उनले राष्ट्रिय टोलीबाट पहिलो गोल गरेका हुन् । साफ च्याम्पियनसिपको तयारीका लागि मैत्रीपूर्ण खेल खेलेको हो ।


नेपाली राष्ट्रिय फुटबल टोलीमा गोलरक्षक तथा कप्तान किरण चेम्जोङ सबैभन्दा अग्ला कदका खेलाडी हुन् ।


आफ्नो उचाइजस्तै उम्दा प्रदर्शन गर्दै लामो समयदेखि टिममा योगदान गरिरहेका यी सुपरस्टारको कद भारतसँगको दोस्रो मैत्रीपूर्ण खेलबाट अझै चुलिएको छ । 


यो खेलमार्फत उनको करिअरले नयाँ कोशेढुंगा पार गरेको छ । किरण चेम्जोङ नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमानी खेलाडी बनेका छन् ।


भारतसँगको दोस्रो मैत्रीपूर्ण खेल किरणका लागि नेपाली जर्सीबाट ७४ औँ अन्तर्राष्ट्रिय खेल हो । उनले यो कीर्तिमान पूर्व कप्तान बिराज महर्जनबाट आफ्नो नाममा सारेका हुन् । विराजले नेपाली फुटबलका महान् खेलाडी राजुकाजी शाक्यको कीर्तिमान तोडेका थिए । 


भारत र माल्दिभ्सका शीर्ष डिभिजन क्लबबाट व्यावसायिक फुटबल खेलिसकेका किरणले राष्ट्रिय टोलीबाट सन् २००८ को मे महिनामा डेब्यू गरेका थिए । –रासस


ताजा खबर