थप एक करोड मात्रा खोप ल्याउने सरकारको तयारी

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना भाइरसविरुद्धको लडाइँ सरकारको प्राथमिकतामा रहेकाले थप एक करोड खोप ल्याउन पहल भइरहेको बताउनुभएको छ । त्यसमा ४० लाख मोडर्ना र ६० लाख फाइजर खोप ल्याइने उहाँले बताउनुभयो ।

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६२औँ वार्षिक कार्यक्रममा सोमबार सम्बोधन गर्दै उहाँले प्रसूतिसम्बन्धी एकमात्र सरकारी अस्पताल भएकाले यो अस्पतालको सेवा अझै विस्तार गर्दै लैजानुपर्ने बताउनुभयो ।

प्रसूति भएका कुनै पनि उमेर समूूहका महिलालाई तुरुन्तै खोप लगाउने व्यवस्था गरिने बताउँदै राज्यमन्त्री श्रेष्ठले प्रसूति अस्पताललाई स्त्रीको स्वास्थ्य हेरचाह तथा अनुसन्धान केन्द्रका रूपमा विकास गर्नुपर्ने बताउनुभयो । अस्पताललाई सुविधासम्पन्न बनाउन मन्त्रालय लागिपरेको जानकारी उहाँले गराउनुभयो ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरभित्रका अस्पतालहरूको विकासका लागि महानगरले सहयोग गर्ने बताउनुभयो । अस्पताललाई आवश्यक ४० वटा भेन्टिलेटर महानगरले वितरण गरिसकेको जानकारी उहाँले दिनुभयो । उक्त कार्यक्रममा स्वास्थ्यसचिव डा. रोशन पोखरेलले प्रसूति अस्पतालमा सात सय शøया थप गरिने बताउनुभयो ।

अस्पतालका निर्देशक डा. सङ्गीताकौशल मिश्राले ‘ह्युमन मिल्क बैङ्क’ र ‘टेस्ट ट्युब’बाट बच्चा जन्माउन प्रक्रिया सुरु गरिने बताउनुभयो । उहाँले अस्पतालमा प्रत्येक वर्ष करिब २२ हजार महिलाले प्रसूति सेवा लिने गरेको बताउनुभयो । –रासस


ताजा खबर