मैत्रीपूर्ण खेलका लागि भारतीय फुटबल टोली काठमाडौंमा

नेपाली राष्ट्रिय फुटबल टिमसँग दुई वटा मैत्रीपूर्ण खेलका लागि भारतीय टिम काठमाडौं आइपुगेको छ ।

भदौ १७ र २० गते हुने प्रतियोगिताका लागि भारतीय टिम काठमाडौं आइपुगेको हो । भारतीय फुटबल टिमलाई अखिल नेपाल फुटबल संघका उपाध्यक्ष शिक्षित पराजुलीले स्वागत गरेका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भारतीय टिमका कप्तान सुनिल क्षेत्रीले नेपालसँगको मैत्रीपूर्ण फुटबलका लागि आफू उत्साहित भएका बताएका थिए । उनले नेपाल पनि भारतका लागि कडा प्रतिद्वन्द्वी भएकाले आफूहरूले कमजोर नआँक्ने उल्लेख गरे । भारतीय टिममा युवा खेलाडीहरूको बाहुल्यता रहे पनि लामो समय अभ्यास गर्न नपाएको उनले बताए ।

कप्तान क्षेत्रीले मैत्रीपूर्ण खेल आयोजना गरेकोमा अखिल नेपाल फुटबल सङ्घ एन्फा र नेपाल सरकारलाई धन्यवाद पनि दिए । नेपालसँगको खेलका लागि मुख्य प्रशिक्षक इगोर स्टिम्याकले २५ सदस्यीय टिम घोषणा गरेका थिए । 

भारतीय टिम राजधानीको सोल्टी होटेलमा बसेको छ ।

खेलाडीहरूको सोमबार नै पीसीआर परीक्षण गरिने छ भने रिपोर्ट नेगेटिभ आएमा मङ्गलवार देखि अभ्यास सुरु गर्ने छ । भारतीय टिमले आर्मी, एपीएफ वा एन्फा मैदान सातदोवाटो मध्य एक ठाउँमा अभ्यास गर्ने जनाइएको छ ।

नेपाल र भारतबिचको दुई मैत्रीपूर्ण फुटबल खेलको ‘किक अफ’ समय तय भएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले नेपाल र भारतबिचको दुवै खेल अपराह्न ५ः३० मा सुरु हुने जनाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने नेपाल र भारतबिचको खेल भदौ १७ र २० मा हुनेछ । 

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेल्न लागेका हुन् । 


साफ च्याम्पियनसिप असोज १५ देखि ३० गतेसम्म आयोजना हुनेछ ।


ताजा खबर