अझै ३ दिनसम्म भारी वर्षा हुने : सबैलाई सतर्क रहन आग्रह

केहि दिनदेखिको लगातारको वर्षाले देशभरको जनजीवन प्रभावित भएको छ । वर्षा अझै ३ दिनसम्म रहने मौसम विज्ञान विभागले जनाएको छ । देशका पूर्व-पश्चिम क्षेत्रमा अझै भारी वर्षा हुने पनि विभागले जनाएको छ ।

खासगरी लगातारको वर्षाका कारण आएको बाढीले तीन हजार १८० घर डुबानमा परेका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार बाढी पहिरामा परेर ९०० घरसहित १५३ गोठ, ६० पुल, ८ विद्यालय र १४ सरकारी कार्यालयमा क्षति पुगेको छ ।

जेठ ३० यता एक हजार ८७ पशु चौपाय मरेको छ । उक्त अवधिमा एक हजार १३० विपद्का घटनाबाट एक हजार २०९ घर परिवारका पाँच हजार ९२४ जना विस्थापित भएका प्रहरीले जनाएको छ ।

मनसुन भित्रिएसँगै नेपालमा अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी आजसम्म ९१ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ४६ पुरुष, २३ महिला, १० बालक र १२ बालिका छन् ।

बाढीपहिरो र डुबानमा परी उक्त अवधिमा ११६ जना घाइते भएका छन् । बाढीपहिरामा परी ४४ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी छ ।

बाढीपहिरामा परेका एक हजार २७५ जनाको विभिन्न ठाउँबाट उद्धार गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।-रासस


ताजा खबर