राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक वाट्मोरको राजीनामा

आइसिसी क्रिकेट विश्वकप लिग दुई खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली ओमानमा रहेका बेला म्ख्य प्रशिक्षक डेव वाट्मोरले राजीनामा दिएका छन् ।

वाट्मोरले शुक्रबार नेपाल क्रिकेट संघ (क्यान) लाई इमेल मार्फत राजीनामा पठाएको अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिएका छन् । वाट्मोरले यही भदौ २१ देखि हुने आइसिसी विश्वकप क्रिकेट लिग दुईपछि नेपाली टोलीको जिम्मेवारीबाट मुक्त हुने प्रस्ताबसहित राजीनामा गरेको चन्दले जानकारी गराए ।

‘उहाँले पठाएको इमेल मैले हेरेँ । उहाँले पारिवारिक र महामारीको कारण देखाउनुभएको छ । उहाँले ओमानमा हुने विश्वकप क्रिकेट लिग दुईपछि छोड्न चाहनुभएको छ,’ चन्दले भने ।

वाट्मोरले डिसेम्बर २०२० मा क्यानसँग एक वर्षका लागि सम्झौता गरेका थिए । तर अहिले उनले नेपाली टोलीको जिम्मेवारी सम्हालेको आठ महिनामात्र भएको छ । 

क्यानले उनको राजीनामा स्वीकृति गर्ने विषयमा छलफल गरेर मात्र निर्णय गर्ने भएको छ । चन्दले प्रशिक्षकको राजीनामा इमेलमार्फतमात्र प्राप्त भएको र त्यसमा छलफल हुन नसकेको बताए । उनका अनुसार क्यानका पदाधिकारीबीच सल्लाह भएपछि प्रशिक्षकसँग पनि छलफल हुनेछ । त्यसपछि राजीनामा स्वीकृति गर्ने की नगर्ने भन्ने विषयमा निर्णय हुनेछ ।

वाट्मोरको प्रशिक्षणमा नेपालले घरेल् मैदानमा मलेसिया र नेदरल्यान्ड्ससमेतको सहभागिता रहेको त्रिदेशीय ट्वान्टी २० शृंखला जितेको थियो ।

नेपालले भदौ २१ देखि असोज १ सम्म हुने आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गतका खेलमा ओमान र अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ ।

वाट्मोरले नेपाल आउनुअघि नै रणजी ट्रफीको टोली बरोडासँग सम्झौता गरिसकेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनले २०२० मै बरोडासँग सम्झौता गरे पनि गत वर्ष कोभिड १९ महामारीका कारण प्रतियोगिता हुन सकेको थिएन । प्रतियोगिता यो वर्ष पनि नहुने अनुमान थियो । वाट्मोरले २०२२ को प्रतियोगितामा बरोडाको टोलीलाई नेतृत्व गर्ने सम्झौता गरिसकेको टाइम्स अफ इन्डियाले जनाएको छ । 


ताजा खबर