राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण कतारमा हुने

 नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण कतारमा हुने भएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बिहीबार नेपालले बन्द प्रशिक्षण कतारको दोहामा हुने जनाएको छ ।

नेपाली टिम सेप्टेम्बर १० (भदौ २५) मा दोहा प्रस्थान गर्ने छन् । साफ च्याम्पियनसिपका लागि नेपालले कतारमा तयारी गर्न लागेको हो ।

नेपाली टोलीले हाल पोखरामा तयारी गरिरहेको छ ।  मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको नेतृत्वमा २५ खेलाडी बन्द प्रशिक्षणमा रहेका छन् । कतार जानु अघि नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने खेल भदौ १७ र २० मा हुनेछ । 

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुनेछ । नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपाल र माल्दिभ्सबीचको खेल अक्टोबर १ (असोज १५) मा मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ । नेपालले दोस्रो खेलमा श्रीलङ्कासँग अक्टोबर ४ (असोज १८) गते खेल्नेछ ।

नेपालले तेस्रो खेलमा भारतसँग अक्टोबर १० (असोज २४) र लिग चरणको अन्तिम खेलमा बङ्गलादेशसँग अक्टोबर १३ (असोज २७) मा खेल्नेछ । पाँच राष्ट्र सहभागी प्रतियोगिताको लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि अक्टोबर १६  (असोज ३०) मा प्रतिस्पर्धा गर्ने छन् ।


ताजा खबर