नेप्सेमा दोहोरो अङ्कको वृद्धि : नौ कम्पनीको शेयरमा सकारात्मक सर्किट

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १७.६० अङ्कले बढेर तीन हजार ९४.०५ विन्दुमा पुगेको छ । यस्तै ठुला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.४० विन्दुले बढेर ५७१.३९ मा पुगेको छ । नेप्सेले उचाइ प्राप्त गरे पनि कारोबार रकम भने उल्लेख्य वृद्धि भएन । कूल २३२ कम्पनीको दुई करोड १६ लाख ९० हजार ५८५ कित्ता शेयर रु १३ अर्ब ४२ करोड १९ लाख ७४ हजार ७९२ मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार साताको अन्तिम दिनको कारोबारका आधारमा रु ४३ खर्ब २३ अर्ब ती लाख २७ हजार ६२२ बराबरको बजार पुँजीकरण पुगेको छ । नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर उकालो लाग्दा आठ उपसमूहको शेयर भने ओरालो लागेको छ । होटल तथा पर्यटन ११.५१, विकास बैङ्क २४१.६५, जलविद्युत् १६९.३७, वित्त १२०.२२ र लघुवित्त ३७.५७ विन्दुले उकालो लाग्यो । यस्तै बैङ्किङ ७.५९, व्यापार ११.३९, निर्जीवन बिमा ५२.७४, उत्पादन २७.२९, अन्य ६, जीवन बिमा १५४.६४, सामूहिक लगानी कोष ०.०५ र लगानी ०.०९ विन्दुले ओरालो लागेको छ ।

कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ९३ करोड ८४ लाख ४० हजार ९०० बराबरको कारोबार भयो । यस्तै अरुण काबेली पावर रु ४५ करोड ६ लाख ७१ हजार ८४७, रिडी हाइड्रोपावर रु ३४ करोड ५६ लाख ३० हजार ३५७, महालक्ष्मी विकास बैङ्क रु ३१ करोड ७५ लाख ९२ हजार ९४० र कामना सेवा विकास बैङ्क रु २९ करोड ९५ हजार ३३ हजार ८६४ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

नौ कम्पनीको शेयरमा सर्किट

दुई दिन ओरालो लागेको नेप्सेमा सुधार आउँदा आज विभिन्न नौ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । नारायणी डेभलपमेन्ट बैङ्क, शिवश्री इन्भेस्टमेन्ट फाइनान्स, गुह्यश्वरी मर्चेन्ट बैङ्क, अरुण भ्याली हाइड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैङ्क, आँखु खोला जलविद्युत् कम्पनी, घलेम्दी हाइड्रोपावर, जीवन विकास लघुवित्त लघुवित्त र खानीखोला हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो ।

गुडविल फाइनान्सको ऋणपत्र ३.९५, सिटिजन म्युचुअल फण्ड ३.४४, लाइफ इन्स्योरेन्स कम्पनी ३.३३, शिवम् सिमेन्ट २.३० र गुर्खाज फाइनान्सका लगानीकर्ताले २.२२ प्रतिशतले गुमाए । –रासस


ताजा खबर