कोभिड बिरुद्ध फाइजर खोपलाई अमेरिकामा पूर्ण अनुमति

कोरोना भाइरसविरुद्धको फाइजर खोपलाई अमेरिकाले प्रयोगका लागि पूर्ण अनुमति दिएको छ। यो खोपलाई अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडिए)ले १६ वर्षमाथिका व्यक्तिका लागि प्रयोगको पूर्ण अनुमति दिएको हो।

यसअघि यो खोपले आपतकालीन प्रयोगको अनुमति पाएको थियो। योसँगै फाइजरको खोप कोरोना भाइरसविरुद्ध पूर्ण प्रयोगको अनुमति पाउने विश्वमै पहिलो खोप बनेको छ।

खोप लगाएका करिब ४४ हजार व्यक्तिको विवरणको समीक्षा गरेपछि खोपलाई प्रयोगको लागि पूर्ण अनुमति दिएको एफडिएले जनाएको छ। एफडिएका अनुसार खोपको प्रभावकारिता ९१ प्रतिशत रहेको छ। खोपले १६ वर्ष वा सोभन्दा माथिका व्यक्तिका लागि पूर्ण अनुमति पाए पनि १२ देखि १५ वर्ष उमेर समूहका व्यक्तिका लागि भने आपतकालीन अनुमति मात्र पाएको छ।

अमेरिकी नागरिकले कोरोना भाइरसविरुद्धको खोप लगाउन आनाकानी गरिरहेका वेला एफडिएले यस्तो निर्णय गरेको हो। यो निर्णयसँगै कम्पनी तथा संस्थाहरूले आफ्ना कर्मचारीले अनिवार्य खोप लगाउनुपर्ने व्यवस्था गर्ने अनुमान गरिएको छ। –रोयटर्स


ताजा खबर