कोरोना संक्रमित र मृतक दुवै बढे : २१ जिल्ला रेड जोनमा

देशभर २ हजार ५ सय २५ जनामा कोरोना संक्रमण पुष्टि / २ हजार ८६ जना निको भए

देशभरका २१ जिल्ला कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम क्षेत्र (रेड जोन ) भित्र रहेका छन् । 


स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह प्रवक्ता डा.समीर कुमार अधिकारीले सक्रिय सङ्क्रमितको सङ्ख्या धेरै भएका क्षेत्रलाई उच्च जोखिमको सङ्केत स्वरूप रेड जोनमा राखिएको जानकारी दिनुभयो ।

 
बढी जनघनत्व भएको क्षेत्र र तराईका जिल्लाहरू सङ्क्रमणको जोखिमभित्र रहेको सह प्रवक्ता डा.अधिकारीले बताउनुभयो । 


हाल ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेका क्षेत्रलाई रेड जोन, २ सय बढी संक्रमित रहेका क्षेत्रलाई यल्लो र २ सय कम संक्रमित भएका क्षेत्रलाई सङ्क्रमण हिसाबले ग्रिन जोनका रुपमा छुट्ट्याइएको छ ।  


हाल काठमाडौँ उपत्यका सहित वाग्मती प्रदेशका ९ जिल्ला, गण्डकी प्रदेशका ६ जिल्ला , प्रदेश १ का ३ , लुम्बिनीका २ र कर्णाली प्रदेशको एक जिल्ला उच्च सङ्क्रमितको क्षेत्र (रेड जोन) मा छन् । 


देशभर २ हजार ५ सय २५ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा आज २ हजार ५ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १४ हजार ८ सय १० नमुनाको पिसिआर तथा एन्टीजेन परिक्षण गर्दा २ हजार ५ सय २५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 


सङ्क्रमणका कारण आज थप ३५ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा हालसम्म सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १० हजार ५ सय ६८ पुगेको छ । 


सङ्क्रमणबाट आज २ हजार ८६ जना निको भएका छन् । 


ताजा खबर