त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुटिक विमानस्थल बन्दै

परम्परागत संस्कृति र आधुनिकता झल्कने गरी मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) को स्वरूप परिवर्तनको काम धमाधम भइरहेको छ । यदि कोभिड–१९ महामारी नभइदिएको भए अन्तर्राष्ट्रिय विमानस्थल एक वर्ष अघि नै बुटिक विमानस्थलको रुपमा रूपान्तरण भइसकेको हुन्थ्यो । 

सरकारले एक मात्र अन्तर्राष्ट्रिय विमानस्थललाई अघिल्लो वर्ष वैशाख १ गते बुटिक विमानस्थलको रुपमा घोषणा गर्ने तयारी थियो । तर, कोभिड महामारीका कारण सन् २०२० का लागि घोषित नेपाल भ्रमण वर्ष पनि स्थगित भयो भने सँगै बुटिक विमानस्थलको कामले पनि पूर्णता पाउन सकेन । अहिले महामारीकै बीच बुटिक विमानस्थलको रुपमा रूपान्तरणका लागि धमाधम काम भइरहेको छ जसका लागि आवश्यक संरचना निर्माण, साजसज्जा तथा सौन्दर्यीकरणका काम जारी रहेको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिनुभयो । उहाँले विमानस्थलको बुटिक अवधारणाअनुरूप काम अघि बढाइनुका साथै क्षमता विस्तारको काम चलिरहेको बताउनुभयो । “टर्मिनलमा फ्लोरिङको काम परिवर्तन भइसकेको छ, अब हामी वास्तविक बुटिक एयरपोर्टको स्वरूप परिवर्तन गर्ने गरी अघि बढेका छौँ, सरसफाइको स्तर, यात्रुलाई दिने सुविधा र सुरक्षाको प्रत्याभूति हुने गरी सेवालाई स्तरीकरण गर्ने क्रममा छौँ”, महाप्रबन्धक तिवारीले भन्नुभयो । 

बुटिक विमानस्थलका लागि पहिला गरिएका काम प्रभावकारी हुन नसकेको र अहिले वास्तविक परिणाम देखिने गरी काम भएको उहाँको दाबी छ । अहिले विमानस्थलमा भिडभाड कम भएकाले पनि विमानस्थलको सुधार र संरचना निर्माण सहज भएको बताइन्छ । विमानस्थलको स्वरूप र संरचना परिवर्तनसँगै क्षमता विस्तार र सेवा स्तरीकरणका काम पनि भइरहेको छ । 

अन्तर्राष्ट्रिय टर्मिनल भवन बाहिर छानो राख्ने ‘क्यानोपी’ को काम करिब अन्तिम चरणमा पुगेको छ । यात्रु प्रस्थान कक्षमा सुविधा सम्पन्न हल तथा यात्रुको लगेज छिटोछरितो बनाउन ‘कन्भेयर बेल्ट’ थपिएको छ । पहिला चार वटा रहेकामा हाल थप दुई वटा गरी छ वटा बनाइएको छ । यसले विदेशबाट फर्किने यात्रुले छिटो भन्दा छिटो लगेज पाउनेछन् । अन्तर्राष्ट्रिय टर्मिनल अगाडि आकर्षक पानीको फोहरा (वाटर फाउनटेन) बनाउने काम पनि अन्तिम चरणमा रहेको विमानस्थलले जनाएको छ । अन्तर्राष्ट्रिय यात्रु बाहिरिने आकर्षक भवनले विदेशी विमानस्थलको झल्को दिन्छ । व्यवस्थित पार्किङ आदि सुधारको काम भएको छ । आन्तरिकतर्फ पनि सेवा स्तरीकरण र क्षमता विस्तारको काम चलिरहेको छ ।

बदलिँदो स्वरुप

जहाजबाट ओर्लेपछि आगमनतर्फ अघि बढ्दा टर्मिनल भवन छिर्ने ढोकैनेर ठूलो अक्षरमा ‘वेलकम टु नेपाल’ लेखिएको छ । प्रवेश विन्दुको दायाँबायाँ भित्तामा मुलुकको पहिचान र परम्परागत कला संस्कृति झल्कने आकर्षक पोस्टरले सजाइएको छ । शाक्यमुनि गौतमबद्धको मूर्तिको छुट्टै आकर्षण छ । सर्वोच्च शिखर सगरमाथादेखि तराईका विविध सांस्कृतिक सम्पदाको झलकसहितको तस्बिरले यात्रुको ध्यान आकर्षित गर्छ । आधुनिक कलात्मक काष्ठकलाको प्रयोग गरेर बुटिक विमानस्थलको रूप दिने प्रयास भइरहेको महाप्रबन्धक तिवारीले जानकारी दिनुभयो । 

टर्मिनल भवनको भित्रपट्टि छिर्नासाथ ताउलोमा सजिएका फुल, पुरातात्त्विक महत्त्वका सम्पदा, मठ, मन्दिर आदि झल्कने विविध तस्बिरले पाहुनालाई मोहित तुल्याउँछ । ‘कुइरे’ पाहुना अचम्ममा  पर्छन् अनि उत्साहित हुँदै अनगिन्ती प्रश्न सोध्न थाल्छन् । विमानस्थलको बदलिँदो यथार्थको यो चित्रणले मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थले मुलुकको पहिचानलाई पनि थप प्रवर्द्धन गरेको छ ।

अन्तर्राष्ट्रिय यात्रुको प्रवेश विन्दुको रुपमा रहेको विमानस्थलले मुलुकको झझल्को दिन्छ । देशको ऐनाको रुपमा रहेको विमानस्थलको बदलिँदो स्वरुप र थपिएका सेवा सुविधाले विकसित मुलुकका सुविधा सम्पन्न विमानस्थलको स्तरमा परिणत गर्न सफल भएको सम्बन्धित अधिकारीको भनाइ छ ।

पछिल्लो समय विमानस्थलको रूप फेरिएको छ । यात्रुले केही फरक अनुभूति गर्नेछन् । किनकि विमानस्थलको भित्री रूप लोभलाग्दो गरी सुधारिएको छ । बाहिर पनि आकर्षक ढङ्गले सजाइँदै छ । त्रिभुवन विमानस्थलमा आउने हरेक विदेशी पर्यटक विमानस्थलमा आइपुग्ने बित्तिकै यहाँको सुन्दरता, नेपाली कला कौशल, स्वागत सत्कार, विमानस्थलको वरिपरि नेपाल चिनाउने दृश्य र नेपाली कलाकौशलका सामग्रीको प्रदर्शनीसहितको गतिविधि देख्न पाउने छन् ।

विमानस्थलको स्तरोन्नतिका साथै सेवालाई गुणस्तरीय र प्रभावकारी बनाइ पर्यटकलाई आकर्षण गर्ने गरी स्वरूप फेर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मातहत निकाय लागि परेका छन् । अघिल्लो सरकारले टिआइएलाई परम्परागत संस्कृति र आधुनिकता झल्कने गरी छिट्टै बुटिक विमानस्थलमा रूपान्तरण गर्ने घोषणा गरेको थियो । 

अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचान दिने र पहिलो प्रभाव नै विमानस्थलबाटै पर्ने भएकाले विमानस्थलको स्वरूप बदल्न लागि परेको महाप्रबन्धक तिवारीले बताउनुभयो । हालकै संरचनालाई नेपालीपन झल्काउने गरी ‘बुटिक एयरपोर्ट’ बनाउने सोच अनुरुप काम भइरहेको छ ।
 यसबाहेक नेपालको स्वागत परम्परा, बढी प्रयोग हुने वस्तु, तस्बिर र काष्ठकलाको प्रयोग गरेर बुटिक विमानस्थलको रूप दिने प्रयास गरिएको छ । विमानस्थल प्रवेशका लागि मुख्यद्वार (गोल्डेन गेट) बाट प्रवेश मात्र गर्न पाइनेछ भने फर्कँदा नवनिर्मित ट्याक्सी पार्किङ क्षेत्रको गेटबाट बाहिरिने व्यवस्था गरिएको छ । विमानस्थलको शौचालय सफा देखिन्छन् । विमानस्थल परिसरमा पहिला व्यापारिक होर्डिङ बोर्ड हुन्थे तर अहिले नेपालको कला, संस्कृति र पहिचान झल्कने तस्बिर राखिएको छ ।

बुटिक विमानस्थलको अवधारणाअनुरूप परम्परागत संस्कृति र आधुनिकता झल्कने गरी विमानस्थलको रङ्ग रोगन तथा सजावटको काम भइरहेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक सञ्जीव गौतमले नेपालको विमानस्थल बुटिकको रूपमा घोषणा गरिएको संसारकै पहिलो विमानस्थल हुने बताउनुभयो । उहाँले भन्नुभयो,“विश्वमा बुटिक विमानस्थल भनेर घोषणा गरेको कहीँ पाइएको छैन, नेपालको विमानस्थल पहिलो हुन्छ ।” 

बुटिकको अर्थ सङ्ग्रहालय होइन । प्राचीनता झल्कने कला कृति मात्र नभई व्यवहार पनि नेपालीपन झल्कने हुनुपर्छ । बुटिकको साज सजावटका साथै जनशक्ति पनि सोही अनुरूपको व्यवस्था गरिने विमानस्थलले जनाएको छ । अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन नेपालीसहित ३० अन्तर्राष्ट्रिय वायुसेवा प्रदायक कम्पनीले हवाईसेवा सञ्चालन गर्दै आएका छन् । –रासस


ताजा खबर