भारतद्वारा विश्वको पहिलो डीएनए खोप जाइकोभ–डी लगाउन अनुमति

भारतको औषधी नियामक निकायले कोरोना बिरुद्धको जाइकोभ–डी खोप प्रयोगका लागि अनुमति दिएको छ ।

भारतको औषधी निर्माता कम्पनी क्याडिला उत्पादन गरेको कोभिड–१९ बिरुद्धको जाइकोभ–डी खोप विश्वको पहिलो डीएनए खोप हो । उक्त खोप १२ वर्षभन्दा माथिको उमेरकालाई आपातकालीन प्रयोगको अनुमति दिइएको हो ।

उक्त अनुमतिले भारतमा कोरोनाभाइरस बिरुद्धको खोप अभियानलाई थप मजबूत बनाउने बताइएको छ । जाइकोभ–डी खोप लगाउनज १८ वर्ष मुनिकालाई प्राथमिकता दिइएको छ । जाइकोभ–डीमा प्रयोग गरिएको भाइरस खण्डको अनुवाशिंक पदार्थले डीएनए वा आरएनएलाई विशेष प्रोटिन उत्पादन गर्न निर्देशन दिनेछ । प्रतिरक्षा प्रणालीले उक्त प्रोटिन पहिचान गरी कोभिड–१९ बिरुद्ध लड्न सघाउनेछ ।

कोभिड–१९ बिरुद्धको अन्य खोप एक वा दुई डोज मात्रै लगाए पुग्ने भएपनि जाइकोभ–डी भने तीन डोज लगाउनुपर्नेछ । कैडिला हेल्थकेयरले वार्षिक दश करोडदेखि १२ करोड खोप उत्पादन गर्ने लक्ष्य राखेको छ । कम्पनीले उक्त खोप उत्पादन गरी भण्डारणको काम सुरु गरिसकेको छ ।

भारतले आफ्नो क्षमताले बिकास गरेको यो दोस्रो खोप हो । यसअघि उसले कोभ्याक्सिन खोप बिकास गरेको छ । जसलाई भारत बायोटेकले बनाएको छ ।

क्याडिला हेल्थकेयरले गत् जुलाई महिनामा नै जाइकोभ–डी कोभिड–१९ को नयाँ स्वरुप डेल्टासँग लड्न प्रभाबकारि रहेको बताएको थियो । उक्त खोप सूईरहित हुनेछ । जोन हप्कीन्स विश्वविद्यालयका अनुसार भारतले हालसम्म आफ्नो जनसंख्याको मात्र ९.१८ प्रतिशतमा पूर्ण खोप लगाउन सकेको छ ।

क्याडिलाले आपातकालीन प्रयोगका लागि भारतीय औषधी नियामक निकाय समक्ष गत् जुलाइ एकमा अनुमति मागेको थियो ।


ताजा खबर