देशकै ठूलो मानवनिर्मित भरत तालमा जेटबोट सञ्चालन

सर्लाहीको वागमती नगरपालिका– १२ स्थित मानवनिर्मित ठूलो मानिएको भरत तालमा जेटबोट चल्न थालेको छ । ताल निर्माणको कार्य पूर्णरुपमा नसकिए पनि असार १० गतेदेखि तालमा जेटबोट सञ्चालनमा ल्याइएको छ ।

पूर्वपश्चिम लोकमार्गदेखि करिब दुई किलोमिटर दक्षिणतर्फ रहेको सो मानवनिर्मित तालमा ३५ सिटे जेटबोट सञ्चालनमा ल्याइएको छ । वाग्मती नगरपालिकाका प्रमुख भरतकुमार थापाका अनुसार मोटरबोट सञ्चालनमा आएदेखि सो ताल पर्यटकीय केन्द्र बनेको छ । यहाँ यो ताल हेर्न र जेटबोट चढ्न देशका विभिन्न ठाउँबाट दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् ।

सर्लाहीमा सबैभन्दा ठूलो मानवनिर्मित तालमा नेपालकै पहिलो जेटबोट सञ्चालनमा

नगर प्रमुख थापाको विशेष पहलमा करिब १२१ बिघा क्षेत्रफलमा निर्माण गरिएको यस तालको गहिराइ ४५ फिट छ । गर्मीयाममा यहाँ मोटरबोट चढेर आनन्द लिन र मनोरञ्जनका लागि स्थानीय र वरपरका जिल्लाका पर्यटक यहाँ आउन थालेका छन् ।

बिदाको दिन परिवारसहित ठूलो सङ्ख्यामा आन्तरिक पर्यटक यहाँ आउने गरेको पाइन्छ । यस तालमा हंसराज प्रजातिको हाँस पालिएको छ र आगामी दिनमा माछापालन गरिने नगरपालिकाले योजना बनाएको छ ।

नगरपालिकाभित्रका करिब एक हजार २०० बेरोजगार युवालाई रोजगारी दिने योजनाका साथ तालको निर्माण शुरु गरिएको नगर उपप्रमुख लीलाकुमारी मोक्तानले जानकारी दिनुयो । उहाँका अनुसार नगरको अर्थोपार्जनका लागि ताल महत्वपूर्ण स्रोत बन्न सक्छ ।

यस ताललाई व्यवस्थित गर्दै बगैँचा, पार्क र वनभोजस्थलका रुपमा पनि विकास गरिने योजना नगरपालिकाकोे छ । यहाँ मोटरबोट सवार भएर केही समय घुम्दा पोखराको फेवाताल जत्तिकै मनोरञ्जन प्राप्त भएको जिल्ला प्रशासन कार्यालय सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी भुमेश्वर पोख्रेलले बताउनुभयो ।

बिदाका दिन आफू पनि मनोरञ्जन गर्न तालमा घुम्न आउने गरेको र गर्मी मौसममा तालमा बोट चढेर घुम्दा पोखराको फेवातालको झल्को मेटिने गरेको उहाँको अनुभव छ । अझै तालका बीचमा बन्दै गरेको रिसार्ट (होटल प्यालेस) ले रानिपोखरी र पोखराको फेवातालबीचमा रहेको ‘ताल बराही’को याद आउने उहाँले बताउनुभयो ।

अझ मानवनिर्मित यस ताल टिकटक बनाउने ठाउँका रूपमा समेत प्रख्यात हुँदै आएको छ । यहाँ आउने करिब ९० प्रतिशत पर्यटकले रमणीय वातावरण देखेर टिकटक बनाएर फर्किने गरेका छन् । कलकल बग्ने वाग्मती नदी र छेउमा बन्दै गरेको रेलको लिगले हरेक पर्यटकको मन लोभ्याउने गर्दछ । यस तालको हालसम्मको कूल लागत करिब रु ३० करोड अनुमान गरिएको भए पनि लागत खर्च सार्वजनिक गरिएको छैन ।

सोही तालको अध्ययन अवलोकन भ्रमणमा आएका तनहुँको देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर थापाले वाग्मती नगरपालिकाका नगरप्रमुख थापासँग भेट गरी पर्यटन क्षेत्रको विकासका विषयमा छलफल गर्नुभएको छ ।

सो तालमा ‘नेपाल सिट एण्ड बोट बिल्डिङ’ कम्पनीद्वारा उत्पादन गरिएका राइनोज, फिस्टेल, जेट बोट नामका मोटर बोट सञ्चालन हुने नेपाल सिट एण्ड बोट बिल्डिङ कम्पनीका अध्यक्ष लेखनाथ पौडेल जानकारी दिनुभयो ।

साथै ३०० सिट क्षमताको तीनतले मिनी क्रुजको पनि डिजाइन भइरहेको र यसमा २६ वटा डिलक्स कोठा, रेष्टुरेन्ट र सेमिनार हल रहने बताइएको छ । उक्त क्रुजमा जापान र चीनमा बनेका इञ्जिन जडान गरिनेछ । यस ताल र यसको वरपरको पर्यटकीय विकासको अध्ययन र अवलोकन भ्रमणका लागि देशका विभिन्न पालिकाका जनप्रतिनिधिहरु आउने गरेका छन् । –रासस


ताजा खबर