रक्तपात हुन नदिन देश छोडेको अफगान राष्ट्रपति घानीको भनाई

अफगानिस्तानका राष्ट्रपति असरफ घानीले भन्नुभयो “आफूले देशमा रक्तपात हुनबाट बचाउन देश छोडेको बताउनुभएको छ ।”

उहाँ गत आइतबार देश छोडेर ताजिकिस्तानतर्फ लाग्नुभएको थियो । उहाँ अहिले संयुक्त अरब इमिरेट्स पुग्नुभएको बताइएको छ । उहाँलाई बुधवार साँझ युनाइटेड अरब इमिरेट्समा स्वागत गरिएको छ । उहाँको साथमा उहाँको परिवार पनि रहेका छन् ।

हिंस्रक रूपमा तालिबानीले विभिन्न सहर हुँदै राजधानी काबुल नै कब्जा गर्न थालेपछि उहाँले गएको आइतबार देश छोड्नुभएको थियो ।

देश छोडेपछि पहिलो पटक आफ्नो भनाइ राख्नुहुँदै उहाँले आफूले देशमा रक्तपात हुने देखेर नै त्यसबाट बचाउनका लागि देश छोडेर हिँडेको भनाइ सार्वजनिक गर्नुभएको हो ।

उहाँले बुधवार आफ्नो राष्ट्रिय भाषा पास्तोमा सम्बोधन गर्दै सो धारणा राख्नुभएको छ । त्यसक्रममा उहाँले आफ्ना पूर्वमन्त्रीले देश छोडेर भागेको भनी गरेको आलोचनाको पनि बचाउ गर्नुभएको छ ।

उहाँलाई आफ्नै मन्त्रिपरिषद्का कतिपय मन्त्रीले देश नै अप्ठ्यारो स्थितिमा परेको अवस्थामा आफूहरू र देशलाई नै छोडेर घानी भागेको भनेर आलोचना गरेका थिए ।

गएको आइतबार यता काबुललाई तालिबानीले कब्जामा लिएका छन् । उनीहरूले तालिबानी सरकार गठनको तयारी पनि गरिरहेका छन् । 

काबुलबाट प्राप्त समाचारअनुसार त्यहाँ जताततै तालिबानका हतियारधारी लडाकूले गस्ती गरिरहेका देखिएको छ । सडकमा महिलाको सङ्ख्या कम देखिए पनि दैनिक जनजीवनका अन्य गतिविधि सामान्य बन्दै गएको जस्तो देखिएको छ ।

काबुल अन्तर्राष्ट्रिय विमानस्थल बाहिर अस्तव्यस्त अवस्था कायम नै रहेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

तालिबानका लडाकू तथा अन्य सदस्यले विमानस्थल परिसर पस्न खोज्ने अफगानीलाई रोकिरहेका छन् । तालिबानले नै अहिले काबुलको सुरक्षा गरिरहेको बताइएको छ । –रासस/सिन्ह्वा


ताजा खबर