गाईजात्रा र कृष्ण अष्टमीमा सार्वजनिक विदा दिने निर्णय

सरकारले कृष्ण जन्माष्टमीमा देशभर र गाईजात्राका दिन काठमाडौँ उपत्यकाबाहिरका नेवार समुदायलाई समेत सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने सम्बन्धमा निर्णय गरेको सरकारका प्रवक्ता एवं कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद् बैठकले काठमाडौं–तराईमधेश द्रुतमार्ग आयोजनाका विभिन्न सहायक संरचनाहरू निर्माणका लागि मकवानपुर जिल्ला अन्तर्गतको कालभैरव र गौरीशङ्कर सामुदायिक बनको ५ दशमलव २२ हेक्टर राष्ट्रिय बन क्षेत्र प्रयोग गर्न तथा त्यहाँका रूखहरू हटाउन स्वीकृति दिने निर्णय गरेको छ । 

यसैगरी बैठकले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई महारथीमा पदोन्नति गरी प्रधानसेनापति पदमा नियुक्ति गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने, नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले पदबाट दिनुभएको राजीनामा स्वीकृत गर्ने लगायतका निर्णय गरेको कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । 


ताजा खबर