थप ३,४०३ मा कोरोना पुष्टि : २,१०४ जना संक्रमणमुक्त

सङ्क्रमणबाट ४२ जनाको मृत्यु

आज देशभर १६ हजार ८ सय ३८ जनाको कोरोना भाइरस परिक्षण गर्दा ३ हजार ४ सय ३ जना संक्रमित थपिएका छन् ।


११ हजार ८ सय ३९ वटा नमुनाको पिसिआर विधिबाट परिक्षण गर्दा २ हजार ६ सय १३ जना तथा ४ हजार ९ सय ९९ वटा नमुनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा ७ सय ९० जना गरी जम्मा ३ हजार ४ सय ३ जनामा  संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो ।  


गएको २४ घण्टामा काठमाडौँ उपत्यकामा ९ सय ९३ जनामा थप संक्रमण पुष्टि भएको छ । जसमा ललितपुरमा १ सय ६०, भक्तपुरमा १ सय २२ र काठमाडौँमा ७ सय ११ गरी ९ सय ९३ जनामा संक्रमण पुष्टि भएको प्रवक्ता डा. पौडेलले बताउनुभयो । 


मन्त्रालयका प्रवक्ता डा. पौडेलका अनुसार कोरोना भाइरसको परिक्षण दर दैनिक १५ देखि २० हजार रहेको र परिक्षण गरिएकामध्ये लगभग २० प्रतिशतमा संक्रमण पुष्टि भएको छ । 


देशभरबाट गएको २४ घण्टामा २ हजार १ सय ४ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् ।


प्रवक्ता डा.पौडेलले कोरोना सङ्क्रमणको लक्षण देखिने बित्तिकै पिसिआर परिक्षण गरी आफूलाई आइसोलेसनमा राखी परिवार र साथीभाइलाई सुरक्षित राख्न समेत आग्रह गर्नुभयो । 


गत साउन १ गते १२ वटा जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित भएको र आजसम्म बढेर २१ जिल्लामा पुगेको मन्त्रालयले जनाएको छ । 
देशभरि आज कोरोना सङ्क्रमणबाट ४२ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा.पौडेलले जानकारी दिनुभयो । यो सँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १० हजार ३ सय ९६ जना पुगेको छ । 

देशभरिका होम आइसोलेसन र संस्थागत आइसोलेसनमा गरी जम्मा ४० हजार ३ सय ३८ जना सक्रिय सङ्क्रमितले उपचार गराइरहेको मन्त्रालयले जनाएको छ । 


जसमा ७ सय ७० जनाले आइसियु र १ सय ८६ जनाले भेन्टिलेटरमा उपचार गराइरहेका छन् । यसैगरी गत २४ घण्टामा देशभरिबाट ८४ हजार १ सय ३३ जनाले खोप लगाएका छन् । 


नेपालको कुल जनसङ्ख्याको १६ दशमलव १९ प्रतिशतले एक मात्रा खोप लगाएको र १२ प्रतिशतले पूर्ण मात्रा खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो । 


ताजा खबर