अर्थ मन्त्रालयद्वारा भन्सार सुधार योजना सार्वजनिक

अर्थ मन्त्रालयले छैटौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना सार्वजनिक गरेको छ । 


मङ्गलवार अर्थ मन्त्रालयमा आयोजित एक समारोहका बिच अर्थमन्त्री जनार्दन शर्माले भन्सार सुधार योजना सार्वजनिक गर्नुभएको हो । सोही कार्यक्रममा अर्थमन्त्री शर्माले नेपाल राजश्व परामर्श समितिको वार्षिक प्रतिवेदन र सुझावहरूको सँगालो समेत सार्वजनिक गर्नुभयो ।


छैटौँ भन्सार सुधार तथा आधुनिकीकरण योजनामा विभिन्न पाँच वटा उपलब्धिहरू प्रक्षेपण गरिएको छ । व्यापार सहजीकरण, यथार्थपरक राजश्व सङ्कलन, समाजको संरक्षण एवं सुरक्षा, स्वचालित भन्सार प्रणाली र सङ्गठनात्मक विकास तथा क्षमता अभिबुद्धिलाई योजनाका उपलब्धिको रुपमा राखिएको छ । 


व्यापार सहजीकरण अन्तर्गत निकासी पैठारी प्रक्रियालाई सहजीकरण गर्ने गरी यसलाई समय सापेक्ष, लागत प्रभावी र अनुमानयोग्य बनाउने लक्ष्य राखिएको छ । 


भन्सार सुधार योजनाले व्यापार सहजीकरण, समन्वयात्मक सीमा व्यवस्थापन, स्वैच्छिक अनुपालन, प्रभावकारी जाँच पासपछिको परीक्षण, राष्ट्रिय एक द्वार प्रणालीको विकास र विस्तार लगायत पन्ध्र वटा प्रतिफल प्राप्त हुने अपेक्षा गरेको छ । 


कार्यक्रममा नेपाल राजश्व परामर्श समितिले १३ वर्ष यताका राजश्वसँग सम्बन्धित विभिन्न सुझावहरू समेटिएको पुस्तक समेत सार्वजनिक गरेको छ ।


सार्वजनिकीकरण कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले भन्सार सुधार योजनामा समावेश गरिएका विषयहरूबाट सेवाग्राहीहरू सन्तुष्ट भएर अपेक्षित लक्ष्य हासिल भए मात्र यसको सफलता ठहरिने बताउनुभयो । 

कार्यक्रममा अर्थ सचिव मधुकुमार मरासिनीले भन्सार सुधार योजनाले भन्सार प्रशासन र भन्सार राजश्वका क्षेत्रहरू व्यवस्थित भई अपेक्षित उपलब्धि हासिल हुने विश्वास व्यक्त गर्नुभयो । 


कार्यक्रममा भन्सार विभागका महानिर्देशक यमलाल भुसाल र नेपाल राजश्व परामर्श समितिका अध्यक्ष महेशप्रसाद दाहालले विषयवस्तुको संक्षिप्त प्रस्तुति गर्नुभएको थियो । –रासस


ताजा खबर